नेकपा एमालेले ७५३ मध्ये ६५३ वटा पालिकाको अधिवेशन सकेको छ। नवौं केन्द्रीय कमिटी बैठकको निर्देशन तल पठाउँदै एमालेले आफ्नो सांगठनिक काम प्रस्तुत गरेको हो।
एमालेले ७ वटा भौगोलिक प्रदेशमध्ये २ मा सहमति र ५ प्रदेशमा निर्वाचनको विधिबाट अधिवेशन सम्पन्न भएको बताएको छ। बागमती, गण्डकी, कोशी, कर्णाली, लुम्बिनीमा चुनावमार्फत् नेतृत्व टुंगो लागेको थियो। मधेस र सुदूरपश्चिम प्रदेशमा सहमतिबाट अधिवेशन सकिएको थियो।
त्यस्तै उपत्यका विशेषमा सहमतिका आधारमा नेतृत्व चयन भएको एमालेले बताएको छ।
भारत प्रवास र बाँकी प्रवासको कामसँग सम्बद्ध प्रवासी नेपाली संघ भारत र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अधिवेशन पनि सकिएको एमालेले बताएको छ।
'जिल्ला तहका सबै कमिटीका अधिवेशन सम्पन्न भएका छन्। दुई तिहाई जिल्ला कमिटीका अधिवेशन चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ। बाँकीमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ,' एमालेले भनेको छ।
एमालेका अनुसार कुल ७५३ पालिकामध्ये ६५३ मा अधिवेशन सम्पन्न भएको छ। जस अन्तर्गत सुदूरपश्चिमका ८८ वटै पालिका अधिवेशन सम्पन्न भएका छन्। कोशीका १३७ मा १, बागमतीका ११९ मा २, गण्डकीका ८५ मा ७, लुम्बिनीका १०९ मा १ र कर्णालीका ७९ मा ३ पालिकाको अधिवेशन बाँकी छ। मधेस प्रदेशका १३६ पालिकामध्ये ५० पालिकामा मात्र अधिवेशन सम्पन्न भएको छ।
यस अवधिमा मधेस प्रदेशलाई छोडेर अन्य प्रदेशमा ९० प्रतिशत भन्दा वढि वडामा वडा अधिवेशन सम्पन्न भएको एमालेले बताएको छ।
बागमतीका १,१२१ वडामा ३०, कोशीका १,१५७ मा २४५, गण्डकीका ७५९ मा ७४, लुम्बिनीका ९८३ मा ५३, कर्णालीका ७१८ मा ४८ र सुदूरपश्चिमका ७३४ मा ६० वडाका अधिवेशन हुन बाँकी रहेको एमालेले बताएको छ।
मधेस प्रदेशमा भने १,२७१ वडामा ३०० मात्र अधिवेशन भएको एमालेले बताएको छ।
'मधेस प्रदेशमा तीन जिल्लाको अधिवेशन यस वर्ष मात्रै सम्पन्न भएको र पालिका तथा वडा अधिवेशन नयाँ सदस्यता नवीकरणपछि गर्ने योजना प्रदेश कमिटीले बनाएका कारणले पनि कम भएको देखिन्छ। यसरी कुल ६,७४३ वडामध्ये ५,३४० वडामा वडा अधिवेशन सम्पन्न भएका छन्,' महासचिव शंकर पोखरेलले तयार पारेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ।
यसबीच केन्द्रीय कमिटी बैठक ९ वटा, स्थायी कमिटी बैठक ३ वटा, पोलिटब्युरो बैठक वटा ४ वटा र सचिवालय बैठक ५४ वटा बसेको एमालेले बताएको छ।