बाँकेमा आठ वर्षीया नाबालिकलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको बैजनाथ गाउँपालिकाका ६१ वर्षीय वीरबहादुर दमाइ छन्।
शनिबार बिहान साढे ११ बजेतिर दमाइले ८ वर्षीया बालिकालाई ललाई फकाइ आफ्नै घरको कोठामा ल्याएर बलात्कार गरेको आरोप छ।
बालिकामाथि भएको बलात्कारबारे आफन्तले शनिबार दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय वनकटवामा उजुरी गरेका थिए ।
त्यसपछि इप्रका वनकटवाबाट प्रहरी नायव निरीक्षक ओम गिरीको कमाण्डमा दुई जनाको टोली र इप्रका कोहलपुरबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा ७ जनाको टोली पुगेको थियो।
सोही प्रहरी टोलीले दमाईलाई घरबाटै नियन्त्रणमा लिएको थियो।
पक्राउपछि उनलाई इप्रका कोहलपुरको प्रहरी हिरासतमा राखिएको छ।
कोहलपुरका प्रहरी प्रमुख डिएसपी लक्ष्मी खनालका अनुसार पीडित बालिका र आरोपीलाई स्वास्थ्य परीक्षणको लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।