प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई चीन भ्रमणका क्रममा धारणा राख्दा विचार गर्न सुझाएका छन्।
रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० जना सांसद ११ दिन लामो चीन भ्रमणमा जाँदैछन्।
नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने भ्रमणका क्रममा उनीहरूले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्यसँग भेटघाट गर्ने कार्यक्रम छ।
भ्रमण टोलीलाई प्रधानमन्त्री शाहले चीन भ्रमणमा जानुअघि सिंहदरबारमा भेटर धारणा राख्दा विवेकपूर्ण ढंगले अभिव्यक्त गर्न सुझाव दिएका हुन्।
'प्रधानमन्त्रीले बिआरआई विवादित छ, विवेकपूर्ण ढंगले धारणा राख्नुस् भनेर सुझाव दिनुभएको छ', एक सांसदले भने।
शाहले सांसदहरूलाई 'इन्फेरियर' नसोच्न र सार्वभौम मुलुकको जनप्रतिनिधिका रूपमा प्रस्तुत हुन समेत सुझाव दिएका थिए।
शाहले चीनले पछिल्लो समय अघि सारेका विभिन्न सुरक्षा सहितका ग्लोबल इनिसिएटिभमध्ये नेपालले 'ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ'मा जोड दिनुपर्ने बताएको ती सांसदले उल्लेख गरे।
शाहले चीन जाने सांसदहरू घुमघाममा मात्र केन्द्रित नहुन समेत सुझाएका थिए।
'भ्रमण पर्यटन मात्र नहोस्', शाहले भनेका थिए, 'फर्किएपछि भ्रमणको विषयमा सुझाव सहित सरकारलाई प्रतिवेदन दिनुहोला।'
शाहले सांसदहरूलाई नेपालले अंगालेको असंलग्न परराष्ट्र नीति अनुसार नै धारणा राख्न र कतिपय विषमयमा चिनियाँले धारणा राखिरहँदा सुन्न मात्र समेत सुझाव दिएका थिए।
चीन जाने प्रतिनिधि मण्डलमा महामन्त्री आचार्य, दलका उपनेता गणेश पराजुली, राज्य व्यवस्था समितिका सभापति हरि ढकाल, रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा छन्।
रास्वपाभित्र चीन जाने सांसदहरू महामन्त्री विपिन आचार्यले 'ह्याण्ड पिक' गरेको भन्दै केही सांसदहरूले असन्तुष्टि समेत व्यक्त गरेका छन्।
'नेपाल र चीनको संसदीय मैत्री समुहमा रहेका सांसदहरूलाई समेटिएको छैन,' एक सांसदले सेतोपाटीसँग भने, 'टर्कीमा रहेका सागर ढकाललाई सिधै चीन बोलाइएको छ। उनी नै टोलीमा पर्नुको कारण के हो?'
चीन जाने टोलीमा अधिकाशं रास्वपा सभापति रवि लामिछाने समूहका सांसदहरू समेटिएको आरोप प्रधानमन्त्री बालेन्द्र शाह निकट रहेका सांसदहरूको छ।
'टोलीमा सभापति निकटका सांसदहरू धेरै छन्,' ती सांसदले भने, 'जेनजी उमेर समूहका सांसद र प्रधानमन्त्री शाह निकट रहेका सांसदहरूलाई समेटिएको छैन।'