नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको बताएका छन्।
प्रेस चौतारी ताप्लेजुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताए।
देशको आवश्यकताले एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनकाले आगामी निर्वाचनसम्म यही सरकार रहने उनको भनाइ छ।
‘देशमा विषम परिस्थिती सिर्जना भएकोले गतवर्ष एमालेको नेतृत्वमा सरकार गठन भएको हो,’ भट्टराईले भने, ‘सरकारले देशको आर्थिक स्थिति अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ। कतिपय कानुन संशोधन गरेको छ। विकासका कामलाई तिव्रता दिएको छ।’
भट्टराईले संविधान संशोधनको समयमा स्थानीय तहको संख्या घटाएर र वडाको संख्या बढाउनुपर्ने बताए। संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका संख्या पनि घटाउनु पर्ने उनले बताए।
वर्तमान सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेको बताए। ‘हाम्रो नेतृत्वमा सरकार बनेपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ। सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर लगानीका लागि आह्वान गरेको छ,’ भट्टराईले भने, ‘थुप्रै आर्थिक ऐन संशोधन भएका छन्। केही नयाँ बनाइएको छ। विदेशी लगानीलाई निरूत्साहित गर्ने कानुनलाई संशोधन गरिएको छ।’
उनले जिल्लामा चालु रहेका र आउन चाहेका विकासका ठूला परियोजनालाई कतैबाट पनि अवरोध गर्नु नहुने बताए।