रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर सुरक्षा प्रत्याभूति दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तयार हुन सक्ने देखिन्छ।
ट्रम्पले युरोपेली नेताहरूलाई युक्रेनलाई अमेरिकी सुरक्षा प्रत्याभूति दिन आफू तयार रहेको बताएको भनेर युरोपेली अधिकारीहरूको हवाला दिँदै द वाल स्ट्रिट जर्नलले लेखेको छ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलसँग अमेरिकाको अलास्कामा शुक्रबार भएको छलफलबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेतहारूलाई अवगत गराउने क्रममा उनले सो कुरा खुलाएका छन्।
युद्ध अन्त्यका लागि आफ्नो कब्जामा रहेको क्राइमिया र डोनबास क्षेत्र लगायत युक्रेनी भूभाग रूसी भूमि भएको मान्यता दिनु पर्ने माग पुटिनले ट्रम्पसँग राखेका थिए।
अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका डोनबास क्षेत्रको केही भागको पनि स्वामित्व दिनुपर्ने पुटिनले माग गरेका छन्।
जेलेन्सकीले त्यस्तो माग अमान्य हुने बताइसकेका छन्। तर अमेरिकी सुरक्षा प्रत्याभूति भने युक्रेनका लागि महत्त्वपूर्ण हुनेछ।
शान्ति सम्झौताका लागि रूसले फेरि युक्रेनमा आक्रमण नगरोस् भनेर प्रत्याभूतिको माग युक्रेनले मुख्य रूपमा उठाइरहेको छ।
युक्रेनमा फेरि रूसले आक्रमण नगरोस् भनेर आफ्ना ३० हजार सैनिक राख्न बेलायत र फ्रान्स तयार छन्। शान्ति सम्झौतालाई दिगो बनाउनका लागि युक्रेनमा पश्चिमी सेनाको उपस्थिति आवश्यक हुने कुरा पुटिनले आफूसँगको छलफलमा स्वीकारेको ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूलाई बताएका छन्।
अमेरिकाले नै त्यस्तो सुरक्षा प्रत्याभूति दिन समेत आफु तयार रहेको पनि ट्रम्पले जानकारी गराएका छन्। अमेरिकाले त्यस्तो सुरक्षा प्रत्याभूति दिने कुरामा यसअघि ट्रम्प तयार थिएनन्।
बेलायत, फ्रान्स लगायत युरोपेली देशका सेना युक्रेनमा राखेर दिने प्रत्याभूतिमा अमेरिकाको पनि सहभागिता हुनुपर्ने जेलेन्सकीले माग गर्दै आएका छन्। तर ट्रम्प त्यसका लागि तयार थिएनन्। तर अब भने युरोपेली देशका सेनालाई अमेरिकाले प्राविधिक र बन्दोबस्तीमा सहयोग गर्न ट्रम्प तयार भएको बताएका छन्।
अमेरिकी सेना नै युक्रेनमा राख्ने कुरामा भने उनी तयार देखिँदैनन्। अमेरिकी सेना युक्रेनमा नराखे पनि त्यहाँ रहने युरोपेली सेनालाई अमेरिकाले सैन्य सहायता दिने प्रत्याभुति दिने हो भने युक्रेनको प्रमुख माग पुरा हुनेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)