राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाऊ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत १५ गतेको प्रदर्शनको क्रममा तीनकुनेमा आफूलाई इन्काउन्टर गर्ने तयारी रहेको थाहा पाएर आफू भागेको दाबी गरेका छन्।
सोमबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै उनले एक जनाले आफूलाई घटनाको अघिल्लो दिन नै ‘तँलाई मार्ने योजना छ’ भनेर सुनाएको प्रसाईंको दाबी छ।
उनले चैत १५ गतेको प्रदर्शन आफू आउनुअघि नै हिंसात्मक बनिसकेको र प्रहरीले घरका छतमा बसेर गोली हानेको बताए।
‘म आउनुअघि नै गोली चलिसकेको थियो। मानिसहरू लडिसकेका थिए। त्यसपछि मैले मेरै गाडीको चालक निकालेँ। को थियो चालक त्यो पनि थाहा छैन। मैले गाडी नचलाएको दस वर्ष भएको थियो। तर पनि म राम्रो गाडी कुदाउँदो रहेछु, त्यो दिनको घटनाले प्रमाणित गर्यो। अघिल्लो दिन नै के आएको थियो भने, त्यहाँ घुसपैठ हुन्छ, तँलाई मार्ने योजना छ भनिएको थियो,’ उनले भने।
आफूलाई इन्काउन्टर नै गर्ने तयारी बुझेपछि सुरक्षित हुन प्रहरीको भिडतिर गाडी हुइँक्याएको पनि उनले बताए।
‘म एकैपटक गाडीलिएर प्रहरीतिर गएँ। मार्ने नै योजना रहेछ भने त एक दुई जनालाई त भनेको हुन्छ। सबैलाई त भनेको हुँदैन। त्यसकारण म पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर। त्यसपछि एकजना डिएसपीले आएर तपाईंले जे गर्नुभयो ठीक गर्नुभयो भने। तपाईं गएर आफ्नो कार्यक्रम सकेर निस्कनुस् भनेर भने,’ उनले दाबी गरे।
त्यहाँबाट आफू मञ्चमा गएर प्रहरीसँग धक्कामुक्की नगर्नुस्, ढुंगा नहान्नुहोस् भनेर प्रदर्शनकारीलाई पनि भनेको उनले बताए।
‘प्रहरीलाई पनि अश्रुग्यास नहान्नुस्, घरका छतमा बसेर गोली नहान्नुस् भन्दा पनि घरका छतबाट गोली हान्न थाले,’ उनले भने, ‘मलाई त्यतिखेरै कोही मान्छे, सिभिलमै रहेका मान्छे आएर तपाईंलाई मार्ने योजना छ यहाँबाट निस्कनुस् भनेपछि म निस्किएँ। करफ्यु लाग्दा म काठमाडौं कटिसकेको थिएँ। मलाई इन्काउन्टर किन गर्न खोजियो भनेर मदन भण्डारी बाँचेको थियो भने अरूको चान्स आउँदैनथ्यो।’