प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा मंगलबार बसेको प्रतिपक्षी दलहरूको बैठकले उसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेको तयारीलाई असफल बनाउने निर्णय गरेको छ।
आचरणमाथि प्रश्न उठाउँदै कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने तयारी गरेका छन्। त्यसका लागि मंगलबार कांग्रेस र एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर गराएका छन् भने सरकारमा रहेका र सरकारबाहिर रहेका साना दलहरूसँग छलफलसमेत गरेका छन्।
उपसभामुख इन्दिरा राना मगरले भिजिट भिसासम्बन्धी अन्तर्वार्ताको समय सारिदिन आग्रह गर्दै लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र लेखेको विषय गत वर्ष बाहिरिएको थियो। त्यसबेला कांग्रेस र एमालेका कतिपय सांसदहरूले प्रतिनिधि सभामा बोल्दै पदबाट राजीनामा दिन उपसभामुखलाई भनेका थिए तर पछि त्यो विषय ओझेलमा परेको थियो। त्यसबेला प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उपसभामुखविरूद्ध उजुरी परेको थियो।
‘उपसभामुख इन्दिरा राना मगरले सन् २०२३/२/२६ मा संसद सचिवालय र आफ्नो पदको दुरूपयोग गरी अमेरिकी दूतावासमा पदीय मर्यादाविपरीत गैरसंसद व्यक्तिलाई भिसा सिफारिस गरेको हुँदा सो पत्रसमेत संलग्न गरी उपसभामुख पद दुरूपयोग गरेको अभियोगमा हटाउन निवेदन दिएको छु,’ राज्य व्यवस्था तथा सुशासन समितिमा २०८१ साउन १ गते परेको उजुरीमा भनिएको छ।
तर यो विषय अघि बढेको थिएन।
अहिले कांग्रेस र एमाले उपसभामुखलाई पदबाट हटाउने तयारी गर्दैछन्। ६ सदस्यीय संवैधानिक परिषदमा उपसभामुख पनि रहने व्यवस्था छ। संवैधानिक परिषदमा सत्तापक्ष र प्रतिपक्षीको मत बराबर छ। त्यसैले निर्वाचन आयोग लगायतमा नियुक्ति हुन सकेको छैन।
प्रतिपक्षी दलहरूको बैठकपछि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएको घटनाले उनीहरूको निरंकुशतालाई नाङ्गो बनाएको बताए।
‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयोजनका लागि सतारूढ पार्टीहरु नेकपा (एमाले ) र नेपाली कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान चलाएको भन्ने घटनाले उनीहरूको निरंकुशता र दुरासयलाई नाङ्गो पारेको छ। यसले लोकतन्त्रको धज्जी उडाएको छ,’ बैठकपछि श्रेष्ठले भने, ‘यो कदम उपसभामुखको पद अनुकूल आचरण नगरेको भन्ने विषयसँग जोडिएको नभएर आफू अनुकूल संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिका लागि आधार तयार पार्न संवैधानिक परिषदमा बहुमत जुटाउनका लागि चालिएको हो भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ।’
यो र यस्ता कदमले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदै लगेको दाबी उनको छ।
‘दशकौ लामो बलिदानीपूर्ण संघर्षद्वारा प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न चाहने सबैले तात्कालिक निहित स्वार्थभन्दा माथि उठेर यस्तो यस प्रकारको गलत कार्यलाई असफल पार्न एकजुट हुनु पर्ने आवश्यकता छ,’ उनले भने, ‘यस सन्दर्भमा आज प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र ) को आयोजनामा भएको संसदमा क्रियाशील प्रतिपक्षी पार्टीहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले चालेको यस कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गरेको छ।’
प्रतिपक्षी दलहरूको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी सहभागी थिए। विपक्षी दल नाउपा र जसपा नेपाल भने सत्तापक्षीय बैठकमा पुगेका थिए।