नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सांसदको हस्ताक्षर थालिएको समयको छनोट गलत भएको भन्दै आपत्ति प्रकट गरेका छन्।
मुलुकको प्रतिनिधित्व गर्दै विदेश गएको एक जना विशिष्ट व्यक्तिलाई कमजोर पार्ने र उनको 'मोरल डाउन' गर्ने कदम कुनै पनि अर्थमा सही नहुने उनले बताएका हुन्।
सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसले उपभामुख हटाउन सांसदहरूको हस्ताक्षर गराइरहेका छन्।
एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न भनिसकेको छ। यस्तो बेलामा कांग्रेस महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य शर्माले समयको छनोट सही नभएको बताएका हुन्।
‘बालुवाटारमा केही पाक्ने अनि त्यो बूढानीलकण्ठमा पस्किने भन्ने हुँदैन,’ रूपन्देहीमा रहेका महामन्त्री शर्माले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीलाई लाग्यो भन्दैमा उहाँलाई लागेको २४ घन्टाभित्र उपसभामुख हटाउने कुरामा कांग्रेस लाग्ने कुरा ठीक होइन। संस्थागत परामर्श भएकै छैन।’
बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास हो भने बूढानीलकण्ठ सभापति शेरबहादुर देउवाको निवास हो। महामन्त्री शर्माले उपसभामुखको विषय बालुवाटारमा छलफल भएर बूढानीलकण्ठको निर्देशनअनुसार सांसदहरूको हस्ताक्षर गरिएको संकेत गरे।
यस विषयमा पार्टीभित्र कुनै संस्थागत परामर्श नभएको बताउँदै शर्माले पार्टीभित्र वैधानिक तवरमा छलफल र परामर्श हुनुपर्ने बताए। ‘सभापति र महामन्त्रीहरूबीच पनि सल्लाह नभएको विषय हो यो,’ उनले भने।
भिजिट भिसामार्फत विदेश जानेहरूलाई सिफारिश गरेर उपसभामुखले गलत गरेको तर उनलाई दण्डित गर्ने समय भने अनुपयुक्त भएको उनको भनाइ छ।
‘उहाँले गरेको जे कुरा हो, उहाँको पदीय मर्यादा अनुकूल बिल्कुलै होइन, उहाँबाट गलत भएकै हो। त्यो अनुसन्धानको विषय हो,’ शर्माले भने ‘तर उहाँलाई उपसभामुखबाट हटाउने तयारी गर्ने बेला यही थियो? यो गलत भयो,’ उनले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष लगायतका विशिष्ट व्यक्तिहरू देशको प्रतिनिधित्व गरेर विदेशमा भएको बेला कमजोर बनाउने गरी, मोरल डाउन गर्ने गरी त्यहीँ बेला गर्नुपर्ने के आपत आइलाग्यो? समय छनोट विल्कुलै ठीक भएन। समय काल परिस्थिति बुझेर कदम चाल्नुपर्थ्यो।’