अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरूमाथि प्रश्न उठाएका छन्।
अहिलेका कानूनहरू थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताए।
बुधबारको अर्थ समितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे।
उनले २५ हजारभन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताए।
उनले त्यस्तो प्रावधान संशोधन गर्ने गरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे।
सभापति चालिसेले भने, ‘यस्ता कानून बनाउने को हो यो? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि। थुन्ने होइन नि। कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातावरण हाम्रा कानूनले बनाइदिनुपर्छ। उसले पैसा नपाएर रूवाबासी, यता थुनिने भित्र रूवाबासी गर्नुपर्ने। त्यो पनि हुन्छ कहीँ! कसैले बद्मासी गरेको छ भने सम्पत्ति रोक्का गरेर भए पनि हामीले तिनैपर्छ भन्नुपर्छ। थुन्नु हुँदैन। बाहिर राख्नुपर्छ। थुनेर के फाइदा हुन्छ। कसलाई फाइदा हुन्छ?’
बुधबारको अर्थ समिति बैठकले वैकल्पिक वित्तसम्बन्धी विधेयकलाई सर्वसम्मति रूपमा पारित गरेको छ।
उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रस्तुत गर्नेछन्। —न्युज एजेन्सी नेपाल