प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गरेकी छन्।
मंगलबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम छ। समिति सभापति पदमा न्यौपानेको मात्रै उम्मेदवारी परेको छ।
न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद रामहरि खतिवडा छन् भने समर्थकमा नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठ छन्।
नेपाली कांग्रेसका शीर्ष नेताहरूको छलफलले न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो।
त्यसपछि न्यौपानेले संसदीय सुनुवाइ समिति सभापति पदबाट राजीनामा दिँदै राज्य व्यवस्था समिति सभापति पदका लागि मनोनयन दर्ता गराएकी हुन्।
यसअघि राज्य व्यवस्था समिति सभापति नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा थिए। कुलिङ पिरियडसम्बन्धी त्रुटिमा उनलाई संसदीय समितिले नैतिक जिम्मेवार ठहर्याएपछि उनले साउन २७ गते पदबाट राजीनामा दिएका थिए।
दलहरूले संसदीय समिति सभापति भागबन्डा गरी लिएका थिए।