नक्कली शैक्षिक प्रमाणपत्र छपाइ र होलोग्राम स्टिकर प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि कँडेलविरूद्ध नक्कली शैक्षिक प्रमाण पत्रको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको पाइएको छ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ चितवनका अध्यक्ष भइसकेका कँडेलको आफ्नो शैक्षिक प्रमाण पत्र पनि नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
कँडेलले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी सरकारी नियुक्ति लिई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ साल माघ १८ गते विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
उक्त आरोप पत्रपछि विशेष अदालत काठमाडौंले २०८० फागुन ११ गते ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो।
विशेष अदालतले ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोक्दै विशेष अदालतको फैसलामा चित्त नबुझे विशेष अदालत ऐन २०५९ को दफा १७ बमोजिम सर्वोच्च अदालतमा पुनरावेदनका लागि म्याद दिएको थियो।
सोही अनुसार कँडेलले पुनरावेदनको लागि सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
रूपन्देही प्रहरीका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र लिएर सरकारी नियुक्ति लिएको उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
चितवनको कालिका नगरपालिका वडा नम्बर ५ पदमपुरका स्थायी बासिन्दा कँडेल पदमपुरकै श्री भीमोदय नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक भएकै समयमा प्लस टुदेखि स्नातकसम्मको मात्रै होइन, अध्ययन नै नगरी बिद्यावारिधि ‘पिएचडी’ गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र लिएको भन्दै उजुरी परेको थियो।
भीमोदय नमूना माविमा २०५५ साल माघ १० गते अस्थायी नियुक्ति लिएका कँडेल २०६३ साल भदौ २५ गते स्थायी भएका थिए तर उनले लिएका सबै शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
कँडेलले निमावि तृतीय तहमा भीमोदय मावि चितवनमा स्थायी नियुक्त हुँदा वीरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहुजी महाराज विश्वविद्यालय कानपुर भारतबाट स्नातक तह (विए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्ने विशेष अदालतको ठहर थियो।
कँडेलले शिक्षक पदमा नियुक्त हुँदा वीरेन्द्र क्याम्पसबाट २०५२ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भनी चारित्रिक प्रमाणपत्र पेस गरेको भए पनि उक्त प्रमाणपत्रको अभिलेख नभेटिएको भनी त्रिभुवन विश्वविद्यालयले विशेष अदालतलाई पत्र पठाएको थियो।
त्यस्तै उनले पेस गरेको भारतको मगध विश्वविद्यालयबाट जारी भएको स्नातक तह विएको शैक्षिक प्रमाणपत्र उक्त विश्वविद्यालयबाट जारी नगरिएको तथा छत्रपति साहुजी महाराज विश्वविद्यालय कानपुरबाट जारी भएको विएको शैक्षिक प्रमाणपत्रको विषयमा पनि उक्त विश्वविद्यालयले नट जेनुयन भनेको थियो।
तिनै कँडेललाई अहिले फेरि वैदेशिक रोजगारी वा अध्ययनको लागि जान चाहने नेपाली विद्यार्थीहरूलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने गरेको आरोपमा रुपन्देही प्रहरीले पक्राउ गरेको हो।
गत साउन ३० गते ठूलो परिमाणमा नेपाल र भारतका विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाण पत्र र होलोग्रामसहित बेलहियाबाट पक्राउ परेका भारतीय नागरिक २५ वर्षीय अभिषेक यादवको बयानको आधारमा रूपन्देही प्रहरीले कँडेललाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यादवले कँडेलेकै योजनामा नक्कली शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, होलोमार्क र भिसा स्टिकर लगायत कागजात बनाउने गरेको बयान प्रहरीलाई दिएका थिए।
कँडेलले चितवनको लायन्स चोकमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए।
उनले सोही परामर्श केन्द्रमार्फत् नक्कली शैक्षिक प्रमाणपत्रको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ।
रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार कँडेलले नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र बनाएर नेपालीलाई अध्ययन तथा कामदारका रूपमा विदेश पठाउँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कँडेलले पछिल्लो समय विद्यार्थी तथा कामदारहरूलाई माल्टा पठाउन यादवमार्फत् विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र मगाएको प्रहरीले जनाएको छ।
प्रहरीले यादवका साथबाट त्रिभुवन विश्वविद्यालयका १०० वटा ट्रान्सक्रिप्ट, ३६ वटा खाली प्रमाणपत्र, चार हजार ४० थान रहेको २१ बन्डल होलो ग्राम बरामद गरेको थियो।
त्यस्तै उच्च माध्यमिक शिक्षा परिषद्का दुई हजार थान रहेको १९ प्याकेट होलोग्राम, राष्ट्रिय परीक्षा बोर्डको एक हजार सात सय थान रहेको १७ प्याकेट होलो ग्राम र स्टिकर पनि बरामद भएको थियो।
त्यसैगरी भारतको एमिटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा चारित्रिक प्रमाणपत्र, ४९ वटा अन्य खाली प्रमाणपत्र र ४० वटा खाली लोगो बरामद भएका छन्।
जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटी हैदरावाद, छत्रपति शिवाजी महाराज युनिभर्सिटी कानपुर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्द्र विश्वविद्यालयसहितका शैक्षिक संस्थाका सयौँ नक्कली स्ट्याम्प र छाप पनि प्रहरीले बरामद गरेको छ।
अहिले कँडेल र यादव दुवैलाई रूपन्देही प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।
कँडेलले पत्रकार शिशिर सिम्खडाको फेक आइडी बनाएर सामाजिक सञ्जालको दुरूपयोग गरेको भनी साइबर ब्युरोमा पनि उजुरी परेको थियो।
उक्त विषयमा मुद्दा चलिरहेको भए पनि उनले बेवास्ता गरेको प्रहरीको दाबी छ।
कँडेलले कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए।
उनी रास्वपाको सुरूवाती चरणदेखि नै सक्रिय थिए। आफ्नो नामको अगाडी डा. लेख्दै आएका कँडेल बोल्न प्रखर भएका कारण रास्वपाले उनलाई बागमती प्रदेशको प्रशिक्षण विभागको संयोजकको जिम्मेवारी दिएको थियो।
रूपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाण पत्र बनाउनेलगायत आरोपमा पक्राउ गरेपछि रास्वपा अनुशासन आयोगले कँडेललाई निलम्बन गरेको छ।