नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताले माओवादीलाई विश्वास नगरे देश नबच्ने बताएका छन्।
पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने बताए।
‘माओवादीको पहिलो सरकार, दोस्रो सरकार, तेस्रो सरकार हुँदा राम्रोबाहेक कुनै नराम्रो काम गरेकै छैन भन्नेकुरा बिर्सिएर कांग्रेस र एमाले जो भ्रष्टाचारमा लिप्त छन्, भ्रष्टाचारीलाई बचाउनै बनाएका हुन् त्यो सरकार। मैले त खुलेआम भनेको छु नि, सदनमै भनेको छुऽ यो सरकार डरबाट बनेको हो। अब आफू पनि पर्ने बेला आउनै लाग्यो भन्ने लागेपछि त्यसो भएर बनेको सरकार हो यो। यो सुशासन दिन बनेको सरकार हो र अनि यसले सुशासनको आशा गर्नु,’ उनले भने।
उनले माओवादीअनुसार नीति बन्नुपर्ने पनि बताए।
‘अन्तिममा चुरो कुरा नढाँटीकन भन्दा माओवादीलाई जनताले विश्वास गरेन भने यो देश दुर्घटनामा पर्छ भन्ने मलाई लाग्छ । बच्दैन, बच्दैन। धेरै ठूलो अफ्ठ्यारोमा जान्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)