राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा उम्मेदवार छान्न आज प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) गराउँदैछ। रास्वपाबाट रूपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना आकांक्षी छन्।
सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता आकांक्षी छन्। त्यस्तै कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी छन्। उनीहरूका बीचमा रास्वपाले लिडरसिप एकेडेमीको अभ्यास गरेको छ।
बिहीबारबाट प्राइमरी इलेक्सनको प्रक्रिया सुरू भएको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए। आचार्य नै रूपन्देही–३ को उपनिर्वाचन कमान्डर तोकिएका छन्। उनैको अगुवाइमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको हो। आचार्यले नै उम्मेदवार छनोट कार्यविधि बनाएर पहिलोपटक अभ्यासमा ल्याएका हुन्।
उनका अनुसार मतदाताहरूले ९ जनामध्ये एक जना उम्मेदवारलाई छनोट गर्न पाउनेछन्। ९ जनामध्ये कुनै पनि उम्मेदवार मन परेन भन्न पनि पाउने सुविधा रहेको उनले बताए। मतदाताले मोबाइल एपमार्फत् मतदान गर्नेछन्। मतदातालाई दिएको उम्मेदवार छनोटका विकल्पको १० औं नम्बरमा ‘कसैलाई पनि भोट हाल्दिनँ’ भन्ने पनि विकल्प राखिएको र यसलाई अभ्यासकै रूपमा अन्यत्र पनि प्रयोग गरिने उनले भने।
‘यसरी हेर्दा हाम्रा १० जना उम्मेदवार रहनेछन्,’ आचार्यले सेतोपाटीसँग भने।
मतदानका लागि बिहीबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म समय निर्धारण गरिएको छ।
‘आज बिहान ७ बजेदेखि शुक्रबारसाँझ ७ बजेसम्म रूपन्देही–३ का पार्टी सदस्यहरू, रूपन्देही–३ का पार्टीका तहगत समितिमा रहेका सदस्यहरू र केन्द्रीय समिति सदस्यहरुले पार्टीको मोबाइल एपमार्फत आफूलाई मन परेका नौ उम्मेदवारमध्ये एक उम्मेदवारलाई आफ्नो मत दिन पाउनेछन्। यदि कोही मन परेन भने नन अफ् त एभोब मा पनि मतदान गर्न पाउनेछन्,’ अचार्यले भने।
उम्मेदवार छनोट विधि प्रक्रिया अन्तर्गत प्रारम्भिक निर्वाचनको कुल भारांक ५० प्रतिशत रहेको छ। बाँकी भारांक लिडरसिप एकेडेमीअन्तर्गतका विभिन्न पक्षहरूमा बाँडिएको छ।
प्रारम्भिक निर्वाचनको ५० प्रतिशत भारांकलाई तीन पक्षमा बाँडिएको आचार्यले बताए।
जसअन्तर्गत् रुपन्देही ३ का पार्टी सदस्यहरूको मतदानको भारांक ८० प्रतिशत रहेको छ।
रूपन्देही–३ भित्र मतदाता रहेका पार्टीका तहगत समितिका सदस्यहरूको मतदानको भारांक १० प्रतिशत रहेको छ। उनीहरू देशभित्र, देशबाहिर जहाँबाट पनि मत हाल्न पाउनेछन्।
त्यस्तै केन्द्रीय समिति सदस्यहरूले पनि उम्मेदवारलाई मत हाल्न पाउनेछन्। उनीहरूको मतदानको भारांक १० प्रतिशत रहेको छ।
‘डिजिटल डेमोक्रेसीलाई स्थापनाकालदेखि नै पार्टीको आधारभूत डिएनए बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक प्रारम्भिक निर्वाचनमा सहभागी हुन सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछौं,’ आचार्यले भने।
रास्वपाले भदौ १५ गते उम्मेदवारको नाम सार्वजनिक गर्नेछ। रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपचुनाव हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि रिक्त स्थानमा उपचुनाव हुन लागेको हो। आगामी असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।