राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको समर्थन र सहयोगबाट २०७९ मंसिरको प्रतिनिधि सभा चुनावमा केपी शर्मा ओली झापाबाट निर्वाचित भएको बताएका छन्।
त्यसबेला नेकपा (एमाले) र राप्रपाबीच चुनावी तालमेल भएको थियो।
राप्रपाले एमाले अध्यक्ष ओलीलाई र एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सहयोग गरेका थिए। दुवैले चुनाव जिते।
उक्त चुनाव सकिएको करिब ३ वर्ष पुग्न लाग्दा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले त्यसबेला एमालेको सहयोगले राप्रपा अध्यक्ष लिङ्देनले चुनाव जितेको र अब कसरी चुनाव जित्छन् हेरौंला भन्ने अभिव्यक्ति दिएका छन्।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार साँझ पार्टीका बागमती प्रदेशका अगुवा नेता–कार्यकर्तालाई बालुवाटार बोलाएर भने, ‘राजेन्द्र लिङ्देनले अब झापामा जितेको हेरौं न। हिजो पो हामीले सहयोग गरेका थियौं।’
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिबारे समाचार प्रकाशित भएपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्रीलाई लक्ष्य गरी कटाक्ष गरेका छन्।
‘प्रधानमन्त्रीज्यू, राप्रपाको साथ र समर्थनबाट झापाबाट चुनाव जितेर यतिबेला देशको प्रधानमन्त्री पदमा बिराजमान हुनुभएको बिर्सनुभयो?,’ सामाजिक सञ्जाल फेसबुकमा बिहीबार पोस्ट गर्दै उनले उल्लेख गरेका छन्, ‘राप्रपाको समर्थनबिना तपाईंले फेरि पनि झापाबाट कसरी चुनाव जित्नुहुन्छ, हामी पनि हेरौंला।’
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा अध्यक्ष लिङ्देनले नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई हराएर झापा क्षेत्र नम्बर ३ बाट ४० हजार ६६२ मत ल्याएर चुनाव जितेका थिए।
लिङ्देनलाई सहयोग गर्दै एमाले उक्त क्षेत्रमा उम्मेदवार उठाएको थिएन।
अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट उठेका थिए। उक्त क्षेत्रमा राप्रपाले आफ्नो उम्मेदवार खडा गरेका थिएन भने ओलीलाई सहयोग गरेको थियो।
ओलीले ५२ हजार ३१९ मत ल्याएर चुनाव जितेका थिए।