नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक सहकार्यबारे कुनै छलफल र संवाद नभएको बताएका छन्।
बिहीबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफू र विद्यादेवी भण्डारीबीच सहकार्यको कुनै छलफल नभएको बताएका हुन्।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन मिल्ने भन्दै उनको समर्थनमा अभिव्यक्ति दिएपछि के भण्डारी र तपाइँहरुबीच सहकार्यको छलफल चलेको हो भनेर पत्रकारहरुले सोधेका थिए।
‘अब त्यस्तो चाहिँ होइन,’ उनले भने, ‘मेरो यो बिचमा विद्याजीसँग कुनै सम्पर्क भएको पनि छैन। कुराकानी भएको पनि छैन।’
देशको राजनीति कता कसरी जान्छ भन्ने बारेमा चासो हुनु स्वभाविकै भएको उल्लेख गर्दै उनले भने, ‘प्रत्यक्ष परोक्ष कुरा त बुझिएकै छ र अहिलेको गठबन्धन सरकारले जसरी काम गरेको छ त्यो प्रति आम जनतामा आक्रोश पनि छ। असन्तुष्टी पनि छ त्यसको निकास के गरी हुन सक्छ भन्ने बारेमा चर्चा परिचर्चा चल्नु स्वाभाविक हो।’
आफूले पूर्वउपराष्ट्रपतिलाई पार्टीमा सक्रिय तुल्याएर भण्डारीका लागि ढोका खोलिदिएको दाबी पनि उनले गरेका छन्।
‘पहिला उपराष्ट्रपतिजीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहिँ न कहिँ प्रत्यक्ष या परोक्ष विद्याजीलाई ढोका खोल्दिएकै छ,’ उनको भनाइ थियो, 'दुनियाँमा त्यस्ता धेरै उदाहरणहरु छन् जो राष्ट्रपति भएपछि प्रधानमन्त्री भएका छन्। प्रधानमन्त्री भएपछि फेरि राष्ट्रपति भएका छन्।’
अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रपति महानगरपालिकाको, नगरपालिकाका मेयर भएका उदाहरण पनि विश्वमा धेरै रहेको उनको दाबी थियो।
‘हाम्रो संविधानले ऐनले कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन। कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन त्यसकारण यो खाली कुतर्क मात्रै हो,’ उनले भने।
राष्ट्रपति र उपराष्ट्रपति बन्ने बेलामा पार्टीले निर्णय गरेर पठाउने बताउँदै उनले अगाडि भने, ‘तपाईं राष्ट्रपतिमा लड्न जानुस्, तपाईं उपराष्ट्रपतिमा लड्न जानुस् भनेर संसदले आफै भन्ने होइन। सम्बन्धित पार्टीले निर्णय गरेर पठाउने भएको हुनाले राष्ट्रपतिको अवधि सकिएपछि या उपराष्ट्रपतिको अवधि सकिएपछि फिर्ता आउ भन्न र पार्टीमा लिन समस्या छैन।’
विद्या भण्डारीको सदस्यता नवीकरण ओलीकै सहमतिमा भएको हो भन्ने कुरामा छर्लङ्ग भइसकेको उनको भनाइ थियो।
‘ओलीकै सहमतिले भएको हो भोलि गएर अध्यक्ष बनाउने कुरा पनि उहाँहरुको बिचमा पहिला चलेको हो’, प्रचण्डको दाबी थियो, ‘ तर पछि चीन भ्रमणबाट आएपछि सायद के भयो उहाँहरुबीच त्यहाँ त म जान चाहन्न।’
प्रचण्डले देशको राजनीतिक परिस्थितिको सापेक्षमा र अन्तर्राष्ट्रिय परिस्थितिको सापेक्षमा धेरै राम्रो संविधान बनेको दाबी गरे।
‘तर कार्यान्वयन जसरी हुनुपर्थ्यो त्यसमा चाहिँ समस्या देखिएकै हो,’ उनले भने, ‘ किनकि एउटा पक्षले यो संविधान अनुसारको ऐन कानुन बनाउने कुरामा नै अरुचि देखाए। खासगरी अहिलेको गठबन्धन वाला जो पार्टीहरु छन् उनीहरु सुरु देखि नै संविधानको मर्म र भावना अनुसार ऐन बनाउन नै अरुची देखाइसकेपछि कार्यान्वयनमा समस्या भयो।’
उदाहरण दिँदै उनले संघीय निजामती ऐन अथवा विद्यालय शिक्षा ऐन या प्रहरी समायोजन ऐन कार्यान्वयन गर्ने कुराले यो संविधानको सफलता र सफलतामाथि धेरै ठूलो प्रभाव पार्ने र अहिलेका प्रमुख पार्टीको रुचि नहुनुको कारणले संविधान कार्यान्वयनमा समस्या देखिएको उनले बताए।