रूपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।
२०७९ को मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका उम्मेदवार दीपक बोहरा यस क्षेत्रबाट उम्मेदवार भई निर्वाचित भएका थिए। उनको निधन भएपछि यो क्षेत्र रिक्त छ।
रिक्त प्रतिनिधि सभा सदस्यका लागि कात्तिक १७ मा उपनिर्वाचन हुँदैछ। दलहरूले आ-आफ्नो पार्टीबाट आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गर्न थालेका छन्।
यसबीच राप्रपाले पनि ६ जना आकांक्षीको नाम केन्द्रमा पठाएको छ। तीमध्ये ४ जनालाई अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल गरी सहमति जुटाउने प्रयास गरेका छन्। आकांक्षी नेताहरूले पनि जसले पार्टीबाट टिकट पाए पनि एकअर्कालाई सहयोग गर्ने सहमति गरेका हुन्।
स्वाती थापा, गौरब बोहरा, प्रज्वल बोहरा र बसन्तविक्रम शाहीलाई छलफलमा राखेर अध्यक्ष लिङ्देनले जसले टिकट पाए पनि एकअर्कालाई सहयोग गर्ने र राप्रपाका उम्मेदवार जिताउने भूमिका निर्वाह गर्नुपर्ने भन्दै सहमति पत्रमा हस्ताक्षर गराएका हुन्।
आकांक्षीमध्ये स्वाती थापा र बसन्तविक्रम शाही राप्रपा केन्द्रीय सदस्य छन् भने स्वाती, गौरब र प्रज्वल दीपक बोहराकै परिवारका सदस्य हुन्, स्वाती नातिनी हुन् भने गौरब र प्रज्वल छोरा हुन्।
‘जसले टिकट पाए पनि एकअर्कालाई सहयोग गर्ने गरी अध्यक्षज्यूको रोहबरमा छलफल र सहमति भएको छ,’ राप्रपा सचिवालय स्रोतले भन्यो। अध्यक्ष लिङ्देनले आकांक्षी ४ जना नेताहरूलाई भदौ ८ गते छलफल गराई सहमति गराएका थिए।