राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा नदिए पनि कम्तीमा छानबिन समिति त गठन गरिनुपर्ने बताएका छन्।
उनले नैतिकता छ भने गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने पनि बताए।
‘भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौं। उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानविन आयोग त गठन हुनुपर्यो,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने।
भिजिट भिसा प्रकरणलाई लिएर राप्रपा र रास्वपाले लगातार सदन बहिष्कार गर्दै आइरहेका छन्। राप्रपा र रास्वपाका सांसदहरू आफ्ना कुरा राख्ने र सदनबाट बाहिरिने गरिरहेका छन्।
अध्यक्ष लिङ्देनले सरकारले आफूहरूका कुरा उपेक्षा गरिरहे सदन बहिष्कारलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन्।
‘सरकारले पनि जुन ढंगले उपेक्षा गरिराखेको छ। मलाई लाग्छ– त्यो नेपाली जनताले हेरिराखेको छ। र, आगामी दिनमा नेपाली जनताले यसको मूल्यांकन गर्नेनै छ। हामी कम्तीमा पनि यो सेसनमा हामी यसरी नै निरन्तर विरोधमा रहन्छौं। र, आवश्यक पर्यो भने दुई वटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ,' उनले भने।
उनले राप्रपा र रास्वपा सडकमा आउन सक्ने अवस्था आउने पनि बताएका छन्। सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरू सडक आन्दोलनमा जान बाध्य हुने उनको भनाइ छ।