लोकतान्त्रिक समाजवादी नेपालका अध्यक्ष महन्थ ठाकुरले भूमि ऐन ल्याएर मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र भइरहेको बताएका छन्।
बुधबार संघीय लोकतान्त्रिक मोर्चामा बोल्दै ठाकुरले उक्त कुरा बताएका हुन्।
'भूमि ऐन मधेशीलाई मधेशमै अल्पसंख्यक बनाउने षड्यन्त्र भएको छ,' उनले भने।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई मधेशको उब्जाउ भूमिलाई मरूभूमि बनाउन खोजेको आरोप लगाए।
'शासक वर्गले पहिलो चरणमा वक्सिस, बिर्ता, जागिरको रूपमा वितरण गरे, दोश्रो चरणमा हदबन्दीको नाममा खोसे, तेस्रो चरणमा पुनर्वास कम्पनीको नाममा विदेशीहरुलाई वन विनाश गरेर जमिन बाँडे,' उनले भने, 'चौथो चरणमा कानुन बनाएर सुकुम्बासीको नाममा कार्यकर्तालाई जग्गा वितरण गरे र अहिले आएर पाँचौ चरणमा भुमि ऐन ल्याएर मधेशलाई मरूभूमि बनाउन खोजिएको छ।'
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मधेशी पार्टी मात्रै एक भएर नपुग्ने अवस्था रहेकोले आदिवासी जनजातीसहित सबै उत्पीडित जाती र समुदायहरू नमिलेसम्म अधिकार नपाउने बताए।
'उत्पीडितहरूलाई अधिकारविहिन बनाई कांग्रेस, एमालेले विगत ३५/३६ वर्षदेखि देश लुटेर जनतालाई कंगाल बनाएको छ,' उनले भने, 'पूर्वी सभ्यता र संस्कृतिलाई मेटाएर यहाँका शासकवर्गले होलीवाइन संस्कृति लाद्न खोजेको छ।'