राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले सरकारले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) मा सहमति गरेको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ माग गरेका छन्।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले ग्लोबल सेक्युरिटी इनिसियटिभ्स (जिएसआई) नेपालको परराष्ट्र नीतिविपरित रहेको उल्लेख गर्दै यसले नेपालको हित हुन नसक्ने बताएका हुन्।
उनले जिएसआईमा नेपालमा सहभागी भएर आएकोबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए।
'यदी यस्तो भएको छ भने नेपालको नीतिभन्दा फरक हो । यदि हामीले यो नीतिअनुसार अघि बढ्यौं भने यसले भोलिको दिनमा नेपालको सुरक्षाको लागि पनि गम्भीर हो । यसबारेमा प्रधानमन्त्रीज्यूले सदनमा स्पष्ट रुपमा जानकारी दिनुपर्छ,' उनले भने।
जबराले विद्यालय शिक्षा ऐनप्रति असहमति जनाउँदै आन्दोलनरत निजी विद्यालयका मागहरुमा समेत समर्थन रहेको बताए।
उनले निजी विद्यालयहरुले नेपालको गुणस्तरीय शिक्षाका लागि महत्वपूर्ण योगदान दिएको कारण उनीहरुलाई गैरनाफामुलक बनाउन नहुने कुरामा जोड दिए।
'यो छात्रवृत्ति दिने कुरामा कुनै समस्या होइन । तर बाहिरबाट किनेर ल्याउने कुराहरु किनेर ल्याउन सक्दैनन् । निजी स्कुलहरुलाई गैरनाफामुखी बनाउने कुरा स्वीकार्य छैन,’ उनले भने।
सरकारले भने चीनको थियानजिनमा आयोजित सांघाइ सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यही प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्तामा जिएसआईमा नेपालले सहमति नभएको जनाएको छ।
—न्युज एजेन्सी नेपाल