नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे छलफल नहुने बताएको छ।
केन्द्रीय सचिवालयको ५५ औं बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत छलफल गर्न दिने तर पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे कुनै एजेन्डा नबन्ने बताएका हुन्।
'जे विषयहरू महाधिवेशनसँग सम्बन्धित छन्, ती विषयहरू महाधिवेशनमा छलफल हुनेछन्। जे विषय सचिवालय या केन्द्रीय कमिटीको बैठकको एजेन्डासँग सम्बन्धित छन्, तिनीहरूलाई सम्बन्धित कमिटीमै पछि छलफल गर्नेछौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय केन्द्रीय कमिटी बैठकले टुंगो लगाएकै छ,' उनले भने।
त्यस कारण पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यतालाई लिएर थप छलफल गरिरहनु नपर्ने, त्यसमा पक्ष विपक्षी भइराख्नु नपर्ने कुरा नभएको ज्ञवालीले बताए।
'यो राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशनको एजेन्डा नै होइन यो। पछि केही विषयमा छलफल गर्नुपर्ने भयो भने सचिवालय वा केन्द्रीय कमिटी बैठकमा छलफल होला,' उनले भने।
स्थायी कमिटी सदस्य कर्ण थापाले छुट्टै लैजान लागेको प्रतिवेदनमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे पनि प्रश्न उठाएको बताएका छन्।
उनले नेपालको संविधान, ऐन, कानुन कुनै कुराले पनि भण्डारीलाई राजनीतिमा फर्किन रोक नलगाउने भन्दै एमालेले केन्द्रीय कमिटीबाटै यसरी निर्णय गर्न नहुने विषय आफूले फरक दस्तावेजमा राखेको बताएका छन्।
भण्डारीलाई पार्टीमा फर्किन रोक लगाउने विषयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि नोट अफ डिसेन्ट राखेका छन्। त्यसमाथि भने विधान महाधिवेशनमा छलफल नहुने ज्ञवालीले संकेत गरे।
उनले केन्द्रीय कमिटीको विषय भएकाले महाधिवेशनमा छलफलको विषय बन्न नसक्ने बताए।
'सचिवालयका सदस्यहरूले केही विषयमा विभिन्न सुझाव, रायहरू राख्नुभएको छ। ती सुझाव, रायहरूलाई केन्द्रीय सचिवालयले गम्भीरतापूर्वक ग्रहण गरेको छ। केन्द्रीय कमिटी बैठकले टुंगो लगाइसकेको विषय भएकाले केन्द्रीय सचिवालय बैठकमा यसबारे थप छलफल गरिराख्नु परेन,' उनले भने।
ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता रीतपूर्वक नवीकरण नभएको पनि बताए।
'यद्यपि पार्टी सदस्यताको विषय केन्द्रीय कमिटीको हो। विधान महाधिवेशनमा छलफल हुँदैन। कर्ण थापाले के विषय ल्याउहुन्छ? त्यो बेग्लै कुरा हो,' उनले भने।
पूर्वराष्ट्रपति जस्तो व्यक्तिको विषयमा विधान महाधिवेशनको हाल पक्ष-विपक्षमा बाँडिने, विवादमा तानिने कुरा शोभनीय नहुने पनि उपमहासचिव ज्ञवालीले बताए।
एमालेको विधान महाधिवेशन शुक्रबारबाट ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू हुँदैछ। दोस्रो विधान महाधिवेशन आइतबारसम्म चल्नेछ।
यसले ११ औं महाधिवेशनका लागि एमालेको विधान, नीति र पार्टी निर्वाचन आयोगको नयाँ नेतृत्व चयन गर्नेछ।