नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने बताएका छन्।
शुक्रबारदेखि गोदावरीमा सुरू भएको एमाले विधान महाधिवेशको उद्घाटन गर्दै अध्यक्ष ओलीले विद्या भण्डारीलाई लक्ष्य गर्दै विधान महाधिवेशनसँग सम्बन्धित विषयमा मात्रै छलफल हुने बताएका हुन्।
ती विषय पार्टीको अरू कमिटीमा छलफल हुने पनि अध्यक्ष ओलीले बताए।
'ती विषय विधान महाधिवेशनसँग सबन्धित होइनन्। ती प्रश्नहरू कमिटीगत छलफलका विषय हुन्। सचिवालय, स्थायी कमिटी पोलिटब्युरो वा केन्द्रीय कमिटीले छलफल गर्दै जानेछ,' उनले भने, 'विधान महाधिवेशन विषय केन्द्रीत भएर अगाडि बढ्नेछ।'
प्रधानमन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका कतिपय विषयहरू अनावश्यक ढंगले संवेदनशील बनाइएको छ।
उनले राजनीति, सांगठानिक र विधानसँग सम्बन्धित प्रस्ताव प्रस्तुतपछि समूह बनाएर छलफल गरिने र सोही छलफलमा त्यस्ता विषयहरू राख्न सकिने तर विधान महाधिवेशनले नै त्यसलाई छलफलको विषय नबनाउने बताएका हुन्।
'समूहगत छलफल हुँदा छलफलको विषय बनाउन पाइन्छ। समूह छलफलका क्रममा ती विषयहरू समेटेर लैजान सकिनेछ,' उनले भने।
एमालेको बिहीबार बसेको सचिवालय बैठकले नै विद्या भण्डारीको पार्टी सदस्यताबारे छलफल नहुने बताएका थियो।
उपमहासचिव प्रदीप ज्ञवालीले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत छलफल गर्न दिने तर पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताबारे कुनै एजेन्डा नबन्ने बताएका थिए।
'जे विषयहरू महाधिवेशनसँग सम्बन्धित छन्, ती विषयहरू महाधिवेशनमा छलफल हुनेछन्। जे विषय सचिवालय या केन्द्रीय कमिटीको बैठकको एजेन्डासँग सम्बन्धित छन्, तिनीहरूलाई सम्बन्धित कमिटीमै पछि छलफल गर्नेछौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय केन्द्रीय कमिटी बैठकले टुंगो लगाएकै छ,' उनले भनेका थिए।
त्यस कारण पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यतालाई लिएर थप छलफल गरिरहनु नपर्ने, त्यसमा पक्ष विपक्षी भइराख्नु नपर्ने कुरा नभएको ज्ञवालीले बताए।
यो पनिः एमाले विधान महाधिवेशनः भित्र ओलीको मन्तव्य, बाहिर विद्या भण्डारीको पत्र छ्यापछ्याप्ती