मेयर हर्क साम्पाङको अन्य जनप्रतिनिधिहरूसँगको बेमेल र विवादका कारण अहिलेसम्म आउन नसकेको धरान उपमहानगरको बजेट भदौ २६ मा आउने भएको छ।
नेकपा (एमाले) का जनप्रतिनिधिहरूको माग सम्बोधन गर्न मेयर साम्पाङ राजी भएपछि धरानमा बजेट आउने अवस्था बनेको हो।
कानुन अनुसार असार १० भित्र स्थानीय सरकारले बजेट ल्याइसक्नुपर्छ। साउन १ मा सुरू हुने नयाँ आर्थिक वर्षबाट त्यसको कार्यान्वयन प्रक्रिया थाल्नुपर्छ।
जनप्रतिनिधिहरूबीचको विवादले धरानमा नयाँ आर्थिक वर्ष सुरू भएको ५७ औं दिनमा भदौ २६ मा बजेट आउने भएको हो।
‘भदौ २६ मा नगरसभा राखेर बजेट पेस गर्ने सहमति भएको छ,’ धरानका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले भने, ‘शुक्रबारको कार्यपालिका बैठकले बजेट सिलिङमा केही परिमार्जन गरेको छ। आइतबार बस्ने बैठकले पारित गरेर नगर सभामा पेस गर्ने निर्णय हुनेछ।’
एमालेको माग अनुसार चालू खर्च बाहेक पुँजीगत खर्चका हरेक शीर्षकमा १० प्रतिशत आकार घटाउने, मेयर–उपमेयर भिजन कोषलाई नगर कोष बनाउने सहमति भएपछि बजेट आउने अवस्था बनेको हो। अब स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले तय गरेभन्दा सानो आकारको बजेट आउने भएको छ।
समितिले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट तय गरेको थियो। अब १ अर्ब ९८ करोड रुपैयाँको बजेट आउनेछ।
स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ एमालेको असहमतिबीचपारित गरेको घोषणा भएको थियो। धरानको कार्यपालिकामा एमालेको बहुमत छ। बहुमत सदस्य भएको एमालेले अघि सारेका सिलिङ घटाउने, मेयर र उपमेयर कोषलाई नगर कोष बनाउने मागमा मेयर सहमत बनेका हुन्।
मेयरले ती विषयमा सहमति जनाएपछि उपमेयर अइन्द्र बेघाले भने असहमति प्रकट गरेका छन्। उनले मेयर र उपमेयर कोषको नाम बदल्न नहुने बताएका थिए। उनको असहमतिबीच नाम भने फेरिएको छ।
धरानमा मेयर हर्क साम्पाङ स्वतन्त्र उम्मेदवार बनेर जितेका हुन् भने उपमेयर बेघा माओवादीबाट विजेता बनेका हुन्।