नेकपा (एमाले) को विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा आइतबार पनि जारी छ।
दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा समूहगत छलफल सकेर टोली नेताले प्रस्तुती दिइसकेका छन्।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जबाफ दिने क्रम सुरू भएको छ।
यसै क्रममा अध्यक्ष ओलीले पुतलीको कथा सुनाए।
उनको यो कथा सरकारले सामाजिक सञ्जाल बन्द गरेको विषयतर्फ लक्ष्य थियो।
‘म चीन गएर हाम्रो भूमि लिपुलेक, लिम्पियाधुराबारे कुरा उठाएँ, अडान राखेँ तर यो बुद्धिजीवीहरूले देखेनन्, यसबारे यहाँ कुरा उठाएनन्,’ प्रधानमन्त्री ओलीले बुद्धिजीवीलाई लक्ष्य गर्दै भने, ‘दर्ता गर्न नआएका सामाजिक सञ्जाललाई दर्ता गर्न आऊ भनेर सरकारले भनेको विषयलाई सामाजिक सञ्जाल बन्द गर्यो भनेर प्रचार गरेका छन्।’
यसपछि उनले कथा सुनाए;
फूलको रस खाएर पुतली झुम्म परेर निदाएपछि सपनामा मानिस बनेको देखेछ। डाक्टर, इन्जिनियर, मन्त्री बनेको, गाडी चढेर हिँडेको देख्यो। केही समयपछि झल्यास्स ब्युँझियो- उसलाई दिग्भ्रम भएछ- म पुतली हुँ कि मान्छे? बुद्धिजीवीहरू मानिस हुन् कि पुतली भन्ने भ्रममा बाँचिरहेका छन्।
एमाले विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले ४० वर्षमुनिका युवा सक्रिय नहुँदा पार्टीमा युवाको आकर्षण कम भएको बताएका थिए। साथै पद, प्रतिष्ठा र सुविधा खोज्ने क्रमले गर्दा संगठनलाई गतिशील बनाउन नसकिएको उनको भनाइ थियो।
विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिन रोक्ने केन्द्रीय कमिटी बैठकको निर्णयको केही सदस्यहरूले आलोचना गरेका छन्। व्यक्ति हेरेर पार्टीको विधान बनाउन नहुनेतर्फ उनीहरूले जोड दिएका थिए। बागमती प्रदेश कमिटीबाट अन्यत्रको भन्दा धेरैको संख्यामा भण्डारीको पक्षमा प्रतिनिधिहरूले कुरा राखेका थिए।
आफूहरूले दिएका सुझाव टोली नेताले प्रष्टसँग नराखेकोसमेत उनीहरूले बताएका थिए।
यो पनि:
सरकारले सामाजिक सञ्जाल बन्द गरेकोमा कांग्रेसभित्र चर्को असन्तुष्टि
सामाजिक सञ्जाल बन्दविरूद्ध पत्रकारहरूको प्रदर्शन (तस्बिरहरू)