जेन-जी आन्दोलन
काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताको प्रदर्शन सुरू भएको छ।
सोमबार माइतीघरमा भेला भएर जेनजीले प्रदर्शन गरिरहेका छन्। त्यहाँबाट ११ बजे बानेश्वरसम्म मार्चपास गर्ने उनीहरूको कार्यक्रम छ।
माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली शीर उचाली' जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएका थिए।
सँगै 'वी आर द मुभमेन्ट, वी फर दि मुभमेन्ट' जस्ता नाराहरू लगाएका छन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्।
प्रदर्शनमा सहभागी भएकी २३ वर्षीया शुभेच्छा भन्तनाले नेताहरूको पुरानो र अहिलेको जीवनशैलीबारे प्रश्न उठाइन्।
माइतीघरमा सेतोपाटीसँग कुराकानी गर्दै उनले जनताले तिर्ने कर राजनीतिज्ञहरूले जनताका लागिभन्दा व्यक्तिगत हितका लागि प्रयोग गरेको आरोप लगाइन्।
'हामी कर तिर्ने तर त्यो कर जनताका लागि प्रयोग भएन। राजनीतिज्ञहरू सबै जना हामीले तिरेको पैसाले विदेश घुमिरहेका छन्। पहिले राम्रो जीवनशैली नभएकाहरू पनि नेता बनेपछि भव्य जीवनशैली देखियो। तर हामी जनता जस्ताको तस्तै रहे,' उनले भनिन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोध र भ्रष्टाचार बढेको विरोधमा जेनजीले प्रदर्शन गरेका हुन्।
यो पनि: जेनजीको प्रदर्शनमा गुन्जियो- गाउँ-गाउँबाट उठ, देशको मुहार फेर्नलाई (तस्बिरहरू)