जेन-जी आन्दोलन
जेनजी पुस्ताले काठमाडौंसहित विभिन्न शहरमा आन्दोलन गरिरहेका छन्।
काठमाडौं, पोखरा, विराटनगर लगायत विभिन्न शहरमा प्रदर्शन भइरहेको छ। विराटनगरमा जारी आन्दोलनमा सहभागी जमसेद जेके रोजले अब नेताहरूको मनपरी नसहने बताएका छन्।
उनी महेन्द्र मोरङ कलेज विराटनगरमा स्नातक पढ्ने विद्यार्थी हुन्।
उनले देश भ्रष्टाचारले थिलथिलो भइरहेको हुँदा विद्यार्थीहरू आजित भएको बताएका छन्।
‘यो देश भ्रष्टाचारले थिलथिलो भएको छ। हामी विद्यार्थी यो देखेर आजित छौं। हरेक युवा विदेश जाने सोचिरहेका छन्,’ उनले भने, ‘विराटनगरमा सडक हेर्नुस, बेथिति हेर्नुस् सबै हेर्दा रगत उम्लिन्छ। हामी यो असन्तोष सामाजिक सन्जालमा पोख्थिम्। त्यही बन्द गरेर केपी ओलीले हाम्रो आवाज बन्द गर्ने गलत प्रयास गरेका छन्।’
उनले थपे, ‘हाम्रो आवाज रोकिन्न। हामी देशप्रेमी हौं। जस्तोसुकै बलिदान गर्न तयार छौं। तर, अब यी नेताहरूको मनपरी सहन्नौं।’
सोमबार काठमाडौंमा बिहान ९ बजेदेखि माइतीघर देखि बानेश्वरसम्म भेला भएर जेनजीले प्रदर्शन गरिरहेका छन्।
माइतीघरबाट ११ बजे उनीहरूले बानेश्वरसम्म मार्चपास गरेका छन्। उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली शीर उचाली' जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएका थिए। सँगै 'वी आर द मुभमेन्ट, वी फर दि मुभमेन्ट' जस्ता नाराहरू लगाएका छन्।
सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्।