नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जेनजी पुस्ताको आन्दोलनलाई सरकारले हिंसात्मक दमन गरेको आरोप लगाएको छ।
एकीकृत समाजवादीको सोमबार सम्पन्न केन्द्रीय सचिवालयको नवौं बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव घनश्याम भूसालले सरकार हिंसात्मक दमनमा उत्रिएको बताएका हुन्।
‘सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको अविवेकी निर्णयबाट नौजवान युवाहरू जेन जी पुस्तामा उत्पन्न असन्तुष्टिले भ्रष्टाचार तथा कुशासन विरोधी आन्दोलनको रूप लिएको छ,’ भूसालले भनेका छन्, ‘अर्कोतर्फ सरकार हिंसात्मक दमनतर्फ उत्रिएको छ।’
सुशासन र रोजगारी लागि लामो समयदेखि जनताले गरेको अपेक्षाका विपरीत सरकार तथा राजनीतिक नेतृत्वले देखाएको नालायकीका सन्दर्भमा सडकमा यस्ता आवाज देखा पर्नु स्वाभाविक भएको भन्दै भूसालले दमन रोक्न भनेका छन्।
‘हाम्रो पार्टी आन्दोलनमाथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ,’ उनले भनेका छन्, ‘साथै, युवाहरूको भ्रष्टाचार तथा कुशासन विरूद्धको जागरणलाई सम्मान गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरूमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न सरकारसँग जोडदार माग गर्दछ।’
एकीकृत समाजवादीले आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ मोडेर यस आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरूपयोग गर्ने कुनै पनि प्रयासबाट सतर्क रहन देशभरिका आन्दोलनकारीहरूलाई आह्वान पनि गरेको छ।