भरतपुरमा पनि जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरूद्धमा जेनजीले भरतपुरमा प्रदर्शन गरेका थिए।
युवाहरू भरतपुर महानगरपालिकाको कार्यालय प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
प्रदर्शनकारीले प्रहरीले हवाई फायर पनि गरेको आरोप लगाएका छन्।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालले भीडलाई नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको जानकारी दिए।
सयौंको संख्यामा रहेका प्रदर्शनकारीले भरतपुरमा निजी घरहरूको सिसा पनि तोडफोड गरेका छन्।
प्रहरी पनि ठूलो संख्यामा परिचालन गरिएको छ।