भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध पोखरामा आयोजित जेनजी प्रदर्शन भड्काएको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ।
प्रदर्शनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सिडिओ कार्यालयअगाडि लगेर ढुंगा हान्ने, आगजनी गर्न खोज्ने र प्रदर्शनकारीलाई उत्तेजित बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको कास्की प्रशासनले जनाएको छ।
आन्दोलन नियन्त्रण बाहिर जान नदिन उत्तेजित पारिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको कास्कीका सिडिओ रुद्रादेवी शर्माले जानकारी दिइन्।
प्रदर्शनकारीले पोखराको सभागृह चोकमा प्रदर्शन गर्न आइतबार सिडिओ कार्यालयबाट अनुमति लिए पनि उत्तेजित समूह मुख्यमन्त्री कार्यालय र सिडिओ कार्यालय पुगेको थियो।
कास्कीका सिडिओ शर्माले सरकारी कार्यालय रहेका क्षेत्रमा प्रदर्शन, घेराउ लगायत कार्यक्रम आयोजना गर्न निषेध गरेकी छिन्।
सिडिओ शर्माले सोमबार दिउँसो जारी गरेको निषेधाज्ञामा पूर्वतर्फ वार्य चोक, पश्चिमतर्फ फिष्टेल गेट बैदाम, उत्तरतर्फ मालपोत कायालय र दक्षिणतर्फ राष्ट्रबैंक चोकसम्म धर्ना, घेराउ, जुलुस एवं प्रदर्शन गर्न रोक लगाएकी हुन्।
जेनजी आन्दोलनका अगुवाहरुले मानवअधिकार चोकमै आन्दोलन स्थगित भएको घोषणा गरे पनि उत्तेजित समूह मुख्यमन्त्री कार्यालय र सिडिओ कार्यालय अगाडी पुगेर प्रदर्शन गरेका थिए।
उनीहरूले मुख्यमन्त्री कार्यालयमा आगजनी गर्न खोजेकाले अश्रुग्यास र पानीको फोहोर प्रहार गरेको प्रहरीले जनाएको छ।