नेकपा (माओवादी केन्द्र)ले पुष्पलाल मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान स्थगित गरेको छ।
सोमबार काठमाडौंमा जेनजीको प्रदर्शनमा गोली चलेपछि माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएको थियो।
अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरू अभियानका क्रममा सोमबार गोरखा पुगेका थिए।
गोरखामै उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठकले काठमाडौंको जेनजीले गरेको आन्दोलनमा सरकारले दमन गरेको निष्कर्ष निकालिएको प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।
'आन्दोलनमा सरकारले दमन गरेको निष्कर्ष छ। यसको घोर भर्त्सना गरेका छौं,' उपाध्यक्ष सापकोटाले भने।
उनले काठमाडौंको घटनापछि पार्टीको अभियान स्थगित गर्ने निर्णय गरेको छ।
'साथै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सर्वथा गलत हो। युवाहरूको माग बेवास्ता र उनीहरूलाई अपमान गरेको परिणाम हो भन्ने निष्कर्ष छ,' उनले भने।
यसबारेमा थप छलफल र निर्णय भोलि बस्ने पदाधिकारी बैठकले गर्ने उनले बताए।
बैठक बिहान ९ बजे पेरिसडाँडामा बस्नेछ।