नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई कांग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा पराजय भोगेको बताएका छन्।
नयाँ पुस्ताले सरकार, दल, नेतृत्व, प्रशासन र समाजमै एकमुष्ट परिवर्तन चाहेको तर कांग्रेसले आफूभित्र गरेको परिवर्तन उनीहरूलाई बुझाउन नसकेको उनले स्वीकार गरे।
जेन–जी पुस्तालाई सबै परिवर्तन एकैपटक हुँदैन र यसको सुरूआत कांग्रेसले गरिसकेको छ भनेर बुझाउन पार्टी चुकेको उनको भनाइ छ।
रास्वपाले देशमा निराशा मात्रै छ र आफूहरू आएपछि सबै कुरा गर्न सकिन्छ भनेर स्थापित गर्न खोजेको लोकरिझ्याँइको भाष्यलाई चिर्न नसक्नु कांग्रेसको अर्को ठूलो कमजोरी भएको शर्माले बताए।
उनले भने, ‘संसारमा दुई वटा कुरा एकदमै निश्चित हुन्छ, मृत्यु र परिवर्तन। मान्छे परिवर्तन रोजिरहन चाहन्छ। यो पटक निर्वाचनमा जाँदै गर्दा जेन–जी मुभमेण्टले चाहे पछाडि को–कोमा र के–केमा परिवर्तन भयो भन्नेकुरा मतदाता समक्ष स्थापित गर्न सकिएन। निराशा मात्रै छ र हामी आयौँ भने सबै कुरा गर्नसक्छौँ भनेर स्थापित गर्न खोजिएको जुन भाष्य साथीहरूले गर्नुभयो, त्यसलाई चिर्न सकिएन। नेपाली कांग्रेस पार्टी रूपान्तरित भएको छ र नयाँ अनुहारहरू थुप्रै लिएर गएको छ भन्ने स्थापित गर्न सकिएन।’
देशमा केही राम्रा कामहरू पनि भइरहेका छन् भन्ने यथार्थलाई स्थापित गर्न नसक्दा नयाँ दलहरूले त्यसको फाइदा उठाएको उनको दाबी छ। –न्युज एजेन्सी नेपाल