राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्ली इलेक्सनको माग गरेको छ। जेन–जी आन्दोलनमा सरकारले कठोर दमन गरेको भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको वैधता समाप्त भएको ठहर गरेको हो।
‘देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ।
निहत्था नवयुवाहरूले गरेको शान्तिपुर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौं, आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ,’ रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
रास्वपाले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेकाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ।
‘साथै घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
‘नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेश (अर्ली इलेक्सन) को माग गर्दछौं। सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दछौं। आगामी रोडम्याप तय गर्न पार्टी सचिवालय बैठक जारी छ,’ रास्वपाले भनेको छ।