सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र नेकपा (एमाले) सँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्नुपर्ने मतले बैठकमै प्रवेश पाएको छ।
जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले निर्मम दमन गरेको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ। कांग्रेस नेता शेखर कोइरालाले एमालेसँगको सहकार्यको औचित्य सकिएको बताइसकेका छन्।
एकै दिन १९ जनाले प्रहरी गोलीबाट ज्यान गुमाएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार साँझ कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको आकस्मिक बैठक बसेको थियो।
सोही बैठकमा एमालेसँगको सत्ता सहयात्राबारे कांग्रेसले पुनर्विचार गर्नुपर्ने विचार प्रकट भएको हो।
बैठकमा सहभागी एक जना पूर्वपदाधिकारीले सेतोपाटीलाई दिएको जानकारी अनुसार बैठकमा विषय प्रवेश गराउँदै सुरूमा महामन्त्री विश्वप्रकाश शर्माले बोलेका थिए।
‘उहाँले मुख्यतः तीन वटा कुरा गर्नुभयो,’ ती नेताले शर्माको भनाइ उधृत गर्दै भने, ‘पहिलो, एमालेसँगको सात बुँदे समझदारी अन्त्य गर्दै सत्ता सहकार्य अन्त्य गरौं। दोस्रो, सहमतिलाई निरन्तरता दिने हो भने कम्तीमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प एमालेभित्रैबाट खोज्न भनौं।’
प्रधानमन्त्री ओलीको हठ, कार्यशैली लगायतका विषयले धेरै कुरा नराम्रो भइरहेको शर्माको भनाइ थियो।
‘र, हाम्रो दलका तर्फबाट गृहमन्त्री रहनुभएका रमेश लेखकले तत्कालै राजीनामा दिन लगाऔं।’
महामन्त्री शर्माले यति भनिसकेपछि अर्का महामन्त्री गगन थापाले उनको प्रस्तावमा सहमति जनाएका थिए।
‘हामीले अघिल्ला दुई विषयमा निर्णय लिनलाई केही छलफल गर्नुपर्ला। गृहमन्त्रीको राजीनामा तत्कालै हुनु राम्रो हो। हुनुपर्छ।’
बैठकमा सहभागी नेताहरूका अनुसार त्यसपछि गृहमन्त्री रमेश लेखकले जनधनको क्षति अकल्पनीय भएको नैतिक जिम्मेवारी आफूले लिने र क्याबिनेटमा पुगेर राजीनामा दिने बताएका थिए।
नेता विमलेन्द्र निधिले एमालेसँगको सत्ता सहयात्राबारे पुनर्विचार गर्नुपर्नेमा सबभन्दा धेरै जोड दिएको बैठकका सहभागीहरूले बताएका छन्।
‘सरकारमा भएर ब्राण्डिङ गर्न लायक काम के गरियो त, त्यसै यतिधेरै आक्रोश बढेको हो र!’ निधिले बैठकमा भनेका थिए, ‘त्यसैले सात बुँदे सहमतिको जगमा भइरहेको एमालेसँगको सहकार्यबारे हामीले सोच्नुपर्ने बेला आएको छ।’
बैठकमा सहभागी नेताहरूले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय प्रधानमन्त्रीको स्वेच्छाचारी कदम भएको भन्दै असन्तोष प्रकट गरेका थिए।
तत्कालै सञ्जालहरू खोल्नुपर्ने मत आएपछि बैठकस्थलबाटै सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गरेर सञ्जाल खोल्न आग्रह गरेका थिए।
एमालेसँगको सहकार्यबारे अहिले नै हतारिन नहुने मत सभापति देउवाको थियो।
‘अहिले नै सहयात्रा टुंग्याउने कुरा गर्दा विकल्प के त?,’ उनले भनेका थिए, ‘त्यसैले यसबारे अहिले हतारिन हुन्न।’
आफूले प्रधानमन्त्रीबाट सोमबार रातिबाटै स`ञ्जाल खुलाउने वचन पाएको देउवाले बैठकलाई जानकारी गराएको ती नेताले बताए।