प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।
पार्टी अभियानका क्रममा गोरखामा रहेका नेताहरू सोमबार नै काठमाडौं फर्केर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को खुमलटारस्थित निवासमा आकस्मिक पदाधिकारी बैठक बसेको थियो।
बैठकले सोमबार काठमाडौंमा जेनजीले गरेको आन्दोलन, त्यसपछि विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रधानमन्त्री ओलीको राजीनामा मागेको हो।
आजको घटनालाई उसले ‘इतिहासकै कलंकको रूपमा भएको नरसंहार’ भनेको छ।
‘इतिहासकै कलङ्कको रूपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्दछ, र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ बैठकको निर्णय सुनाउँदै प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले भने।
माओवादी केन्द्रले भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति जेन-जी पुस्तासँग आफ्नो समान धारणा रहेको पनि जनाएको छ। त्यसकारण आन्दोलनलाई शान्तिपूर्ण र संयमित रूपमा सञ्चालन गर्न पनि माओवादीले अपिल गरेको छ।
साथै प्रदर्शनमा मृत्यु भएका व्यक्तिहरूलाई सहिद घोषणा गर्न पनि माओवादी केन्द्रले माग गरेको छ। मंगलबार साँझ ५ बजे देशभरिका सबै स्थानीय तहहरूमा श्रद्धाञ्जली सभा आयोजना गर्न निर्णय पनि बैठकले गरेको छ।
सोमबार भएको घटनाको घटनाको स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन गर्न आयोग गठन गरी दोषीहरूलाई कडा कारबाही गर्न पनि माओवादीको माग छ।
