प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रसेको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ।
सभापति दुजाङ शेर्पाले शनिबार बिहान विज्ञप्ती जारी गरी जेनजीले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा सरकार रक्षकबाट भक्षकमा परिणत भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीको राजीनामा मागेको हो।
'सुरक्षा सुरक्षा कायम गर्ने बहानामा निहत्था युवा विद्यार्थी माथि बख्तरबन्द हतियारधारी प्रहरीले गोली हानी हत्या गर्नुले सरकार रक्षकबाट भक्षकमा परिणत भएको सन्दर्भमा लोकतन्त्रको समेत हत्या भएको हाम्रो बुझाइ छ,' विज्ञप्तीमा भनिएको छ, 'तसर्थ यस घटनाको पूर्ण जिम्मेवारी लिँदै मन्त्रिपरिषद्का अध्यक्ष प्रधानमन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन जोडदार माग गर्दछौं।'
प्रदर्शन क्रममा भएको सरकारको बर्बर दमनप्रति पनि नेविसंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नेविसंघले विद्यार्थीहरूले उठाएका जायज माग पूरा गर्न भ्रष्टाचार निर्मूल गर्ने उद्देश्यले स्थापित अख्तियार दुरुपयोग अनुसन्धा आयोगलाई थप सशक्त बनाई भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा कार्यान्वयन गर्न माग गरेको छ।
'प्रदर्शनमा प्रशासनिक शक्तिको चरम दुरुपयोग गर्दै मानव अधिकार उल्लङ्घन गर्ने गरी आदेश दिने गृहमन्त्री, गृह प्रशासनका कर्मचारी र तत्कालीन जिम्मेवारीमा रहेका प्रहरी प्रशासनको नेतृत्व उपर आवश्यक छानबिन गरी कडा भन्दा कडा कारबाहीको पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गर्दछौं,' विज्ञप्तीमा भनिएको छ।