जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रुपन्देही जिल्लाभरि निषेधाज्ञा जारी गरेको छ। सोमबार बिहानदेखि जेनजीले सुरु गरेको आन्दोलन आज पनि हुने भएपछि जिल्ला सुरक्षा समितिको बैठक पछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज मंगलबार बिहान ९ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी भएको जनाएको छ।
‘जेनजी पुस्ताको आह्वानमा गरिएको सोमबारको आन्दोलन नियन्त्रण बाहिर गएपछि गएराति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको रुपन्देही प्रशासनले आज हुन सक्ने सम्भावित घटना र क्षति हुन नदिन निषेधाज्ञा जारी गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बताए।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सूचनामा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी भदौ २४ गते बिहान ९ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ।
रुपन्देही जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको सूचनामा उल्लेख छ।
