प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुने भएका छन्।
कार्कीले आइतबार साँझ शिक्षा मन्त्रीका रूपमा पुनको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। उनीसहित नयाँ नियुक्त हुने पाँच जना मन्त्रीको सोमबार शपथ हुनेछ।
म्याग्दी जिल्लाको नाङी गाउँमा जन्मेका पुनले करिब १२ वर्ष शिक्षक भएर काम गरेका थिए। पछि अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक तह पूरा गरे।
सन् १९९२ मा उनी नेपाल फर्के र आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरू गरे।
उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार पाएका थिए।
साथै, नेपाल सरकारले उनलाई २०७९ सालमा एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो।
'नवप्रवर्तनका अभियन्ता' भनेर चिनिने अध्येता पुनले आफ्नो आत्मकथा 'महावीर पुन' पनि लेखेका छन्।