नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंसिरमा नियमित महाधिवेशन गर्न नसके विकल्प विशेष महाधिवेशन मात्रै भएको बताएका छन्।
सुनसरीमा बुधबार महामन्त्री शर्माले भने, ‘पार्टीको १५ औं महाधिवेशन मंसिर मसान्तभित्र गर्न सकिन्छ र सक्नुपर्छ, नसकिए एक मात्र विकल्प- विशेष महाधिवेशन हो।’
पार्टी विधानको धारा १७ को उपधारा २ बमोजिम केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउन सक्ने पनि उनले बताए।
सकेसम्म नियमित महाधिवेशन गर्न आफू र अर्का महामन्त्री गगन थापा लाग्ने उनको भनाइ छ। तर विधानले विशेष महाधिवेशन माग गर्न पनि सक्ने व्यवस्था गरेकोले यसलाई अन्यथा लिन नहुने शर्माको भनाइ छ।
‘केन्द्रीय समितिले नियमित महाधिवेशन वा विशेष महाधिवेशनबारे केही निर्णय गर्न सक्छ तर केही निर्णय लिन सक्दैन कि भनेर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरू हस्ताक्षरमा लाग्नुहुन्छ भने त्यसलाई कसैले पनि नकरात्मक रूपमा लिन मिल्दैन,’ उनले भने, ‘माथिको निर्णयले होस् कि तलको दबाबले अब नयाँ नेतृत्वमा हामी पुग्नैपर्छ।’
महामन्त्री शर्माले आगजनी भएको सुनसरी पार्टी कार्यालयको स्थिति अवलोकन पनि गरेका थिए। उक्त अवसरमा पार्टीकै नेता कार्यकर्ताहरूले सोधेका प्रश्नमा महामन्त्री शर्माले उक्त कुरा बताएका हुन्।
यो पनि: कांग्रेस नेता शेखर र गगनबीच छलफल