नेपाली कांग्रेसका महामन्त्री गगन थापा बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमै सहभागी नरहेको पाइएको छ।
दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दुई घन्टा ढिलो गरी बसे पनि थापा अनुपस्थित रहे। बिहीबार झन्डै ३ घन्टा बैठक बस्यो, १५ जनाले धारणा राखे। अनि शुक्रबार १ बजेसम्मका लागि बैठक स्थगित गरियो।
महामन्त्री थापाबिनै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलेको थियो। बैठकमा थापाको सिट खाली देखेपछि केन्द्रीय सदस्यहरूले महामन्त्रीको खोजी गरेका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने उपस्थित थिए।
बैठकअघि दुवै जना महामन्त्रीसँग कार्यवाहक सभापति खड्काले छलफल गरेका थिए। उक्त छलफल केन्द्रीय कार्यालय सानेपामै मध्याह्नतिर चलेको थियो। कार्यवाहक सभापतिसँग कुराकानी गरेपछि थापा बैठक कक्ष प्रवेश नै नगरी पार्टी कार्यालयबाट बाहिरिएको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए।
ती केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार थापाले बैठकमा देशभरका क्रियाशील सदस्यता नवीकरणको तथ्यांकबारे जानकारी गराउन समय मागेका थिए।
थापाकै नेतृत्वमा कांग्रेसमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ। उक्त समितिले असोज मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रमा जानकारी पठाउन मातहत समितिलाई भनेको थियो। त्यस अनुसार जिल्लाहरूबाट प्राप्त नवीकरणको तथ्यांक थापाले बैठकमा सुनाउन खोजेका थिए।
सभापति शेरबहादुर देउवा पक्षले जिल्लाहरूमा क्रियाशील सदस्यता नवीकरणको काम नै नभएको र मंसिरमा नियमित महाधिवेशन गर्न नसकिने बताइरहेकोले जिल्लाहरूको यथार्थ विवरण उनले पेस गर्न खोजेका थिए।
तर कार्यवाहक सभापति खड्काले थापालाई क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिमा पेस गर्न रोकेको थापानिकट ती केन्द्रीय सदस्यले दाबी गरे।
त्यसैले थापा केन्द्रीय कार्यालय पुगे पनि बैठक सुरू नहुँदै निस्केको उनले बताए।
ती केन्द्रीय सदस्यका अनुसार थापाले आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा यसअघि नै पेस गरिसकेको महाधिवेशनको कार्यतालिका पनि प्रस्तुत गर्न खोजेका थिए।
त्यसका लागि पनि सभापति देउवा पक्षका नेताहरू तयार नभएपछि रोकिने अवस्था बनेको थियो।
थापाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने र केही समय आवश्यक परे ढिलोमा पनि पुसभित्र गर्न सकिने गरी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यतालिका प्रस्ताव गरेका थिए।
कार्यवाहक सभापति खड्कासँगको बिहीबार सानेपामा भएको छलफलमा थापाले क्रियाशील सदस्यताको यथार्थ तथ्यांक विवरण र महाधिवेशनको कार्यतालिका पेस गर्न समय र सहमति मागेका थिए। उनीहरूबीचको छलफलबारे जानकार स्रोतका अनुसार जबाफमा खड्काले आफ्नो पालोमा यसबारे बोल्न र त्यही बेला कुरा राख्न सकिने बताएपछि थापा असन्तुष्ट बनेका थिए।
देउवा उपचारका लागि सिंगापुर जानुअघि पनि महामन्त्रीद्वय थापा र शर्माले कात्तिक १३ गते बस्ने केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशन कार्यतालिका पेस गर्न पाउनुपर्ने कुरा राखेका थिए। तर देउवा पक्षले अहिले नियमित वा विशेष कुनै पनि महाधिवेशन गर्न समय नपुग्ने भन्दै चुनावपछि वैशाखमा मात्रै नियमित महाधिवेशन गर्न सकिने अडान राखेका थिए।
त्यस बेला महामन्त्री थापा र शर्माले नियमित महाधिवेशन कार्यतालिका नल्याउने हो भने केन्द्रीय समिति बैठकमा आफूहरू अनुपस्थित रहने चेतावनी दिएका थिए। महामन्त्री शर्माले बिहीबार बिहान कार्यवाहक सभापति खड्कासँगको छलफलमा पुससम्म नियमित महाधिवेशन गर्न सकिने वैकल्पिक प्रस्तावसमेत राखेका थिए।
कांग्रेस संस्थापन पक्षले जिल्लाहरूमा क्रियाशील सदस्यता नवीकरण न्यून रहेको र नयाँ क्रियाशील सदस्यता वितरणका लागि पनि समय दिनुपर्ने भएकाले मंसिरमा महाधिवेशन गर्न नसकिने बताउँदै आएको छ।
बिहीबारको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले अधिकांश केन्द्रीय सदस्यको धारणा चुनावपछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने र केहीको धारणा भने चुनावअघि नै गर्न सकिने रहेको बताएका थिए।
कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए।
विधान अनुसार हस्ताक्षर गरेर विशेष महाधिवेशन माग भए पनि कांग्रेस संस्थापन पक्षले नियमित वा विशेष कुनै पनि महाधिवेशन चुनावअघि गर्न चाहेको छैन। त्यसैले महाधिवेशन कार्यतालिकालाई लिएर कांग्रेसभित्र मतभेद हुँदै आएको छ।
बिहीबार केन्द्रीय समिति बैठकमा महामन्त्री थापा अनुपस्थित रहेपछि कार्यवाहक सभापति खड्कालाई केही केन्द्रीय सदस्यहरूले यस विषयमा सोधेका थिए। बैठक स्थगित गर्ने बेलामा खड्काले शुक्रबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएका थिए।
केही केन्द्रीय सदस्यले किन दिउँसो १ बजे बैठक बोलाइएको, बिहानैदेखि राखे पनि हुने भनेका थिए। त्यसपछि खड्काले महामन्त्री थापालाई बाहिर राखेर केन्द्रीय समिति बैठक गर्न नहुने र संवाद गर्न समय चाहिएको बताएको एक केन्द्रीय सदस्यले बताए।
यसबारे कार्यवाहक सभापति खड्का र महामन्त्री थापासँग बिहिबार बेलुकी कुराकानी गर्न प्रयास गर्दा दुवैसँग सम्पर्क हुन सकेन।