मधेसमा रातारात एमाले संसदीय दल नेता सरोजकुमार यादव नियुक्त भए।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा यादवलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
सोमबार बिहान झिसमिसेमै महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एउटा होटलमा मुख्यमन्त्री र मन्त्रीहरूको सपथ गराएर प्रदेश प्रमुख भण्डारी काठमाडौं गइसकेकी छन्।
लोसपाबाट मुख्यमन्त्री बनेका जितेन्द्र सोनार (सोनल)ले शनिबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा माओवादी केन्द्रका दुई सांसदहरू रहबर अन्सारी र माला कर्णले विश्वास मत नदिने भनेपछि सोनलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
मत विभाजन प्रक्रिया पूरा नभएकोले सोही धारा अनुसार प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुपर्ने नेपाली कांग्रेससहित ७ दलको माग थियो। यद्यपि बिहानै यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेशमा बदलिएको राजनीतिक परिस्थितिबारे सेतोपाटीका लागि सुरेश बिडारीले नवनियुक्त मुख्यमन्त्री यादवसँग कुराकानी गरेका छन् —
रातारात मुख्यमन्त्री बन्नुभयो, अब कसरी अगाडि बढ्नुहुन्छ?
शपथ खाएपछि बाआमाको आर्शीवाद लिन घर आएको छु। यहाँबाट जनकपुरमा जान्छु। सदनभित्र रहेका दलहरुलाई औपचारिक ढंगले बोलाउँछु। वार्ता सुरू गर्छु। मुख्यमन्त्री जितेन्द्र सोनल मुख्यमन्त्री छँदासम्म नेपाली कांग्रेसको पक्षमा थियौं। संविधानको धारा १६८ को उपधारा २ फेल भइसकेपछिको परिस्थिती हो भनेर मुख्यमन्त्रीले नियुक्ति दिनुभएको हो।
नेतृत्व प्राप्त गरिसकेपछि मैले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कसर बाँकी राख्दिनँ। सम्पूर्ण राजनीतिक दल, नागरिक समाज सबैलाई साथमा लिएर मधेसको उन्नति, प्रगति, शान्ति सुव्यवस्थामा निरन्तर परामर्श गरेर अघि बढ्छु।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने ७ दलले संविधानको धारा १६८ (२) नै कायम छ भनेका थिए। त्यही अनुसार सरकार गठनका लागि आह्वान गर्न माग गरेका थिए। यस्तो अवस्थामा तपाईंलाई प्रदेश सभामा भएका अन्य दलले साथ दिन्छन् त ?
कहिलेकाहीँ बहुमतले सत्य छेक्दैन। त्यस दिनको प्रदेश सभा बैठक प्रत्यक्ष प्रसारणमै थियो। माननीय जितेन्द्र सोनलजीले विश्वासको मत टेबल गरिसकेपछि हिजो पनि हाम्रो दल विपक्षमा बसेको थियो। आज पनि बस्छु। उहाँहरूसँग त बहुमत प्राप्त नै थियो। हाम्रो कारणले कुनै समस्या सिर्जना भएको होइन।
उहाँहरूको गठबन्धनमा रहेका दलको फ्लोर क्रसका कारण न समस्या उत्पन्न भएको हो। सदनमा मत विभाजनमा गइसकेपछि, विश्वासको मतमा छलफल भइसकेपछि, विश्वासको मत प्राप्त नहुने भइसकेपछि समस्या भयो। त्यहाँ माओवादी केन्द्रको आन्तरिक विद्रोहका कारणले गर्दा न विश्वासको मत फेल भएको हो। नभए उहाँ स्वतः मुख्यमन्त्री नै कायम रहनुहुन्थ्यो। उहाँले विश्वासको मतका लागि नै सदन बोलाउनुभएको थियो। अब परिस्थिति कस्तो हो? टर्म एन्ड कन्डिसन कस्तो हो? कुन अवस्थामा म मुख्यमन्त्री भएँ? कुन धारा अन्तर्गत मुख्यमन्त्री भएँ? यो विचारणीय छ।
राजनीतिक दलहरूसँग परामर्श नै नगरी, सहयोग नै नमागी पूर्व मुख्यमन्त्री अगाडि बढ्नुभएको थियो। पूर्वमूख्यमन्त्रीले एमालेसँग कुनै सहयोग नै माग्नुभएको थिएन?
हामीले थुप्रै राजनीतिक दलहरूको नेतृत्वमा सरकार बनाएका छौं। यसपालि एमालेको नेतृत्वमा संविधानतः सरकार आएको हो। हामीले कहिले जसपा नेपाललाई सघाएका छौं। जनमत नेतृत्वको सरकारलाई पनि सहयोग गरेका छौं। अब एमाले बाध्यात्मक अवस्थामा संविधानतः आएको अवस्थामा सहयोग गर्नु नपर्ने स्थिति छैन। विगतका आधारमा पनि उहाँहरूले सहयोग गर्नुपर्छ।
कुन–कुन दलको समर्थन जुटाउनुभयो ?
अहिले हामी तीन दल सरकारमा छौं। नेपाल संघीय समावादी पार्टीको माननीय विमला अन्सारी तरन्नुम, राप्रपाको माननीय कञ्चन बिच्छा र एमालेको तर्फबाट माननीय लखन दास र म चार सदस्यीय मन्त्रीपरिषद् बनेको छ। उहाँहरू विनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएको छ।
संसदभित्रका बहुसंख्यक सांसदहरूले संविधानको धारा १६८ (२) नै लागू हुनुपर्छ भनेपछि होटलमा गएर मुख्यमन्त्रीको शपथ लिनुपर्ने अवस्था आएको हो?
लागु हुनुपर्छ भन्ने अवस्था एउटा होला, तर लागू हुन सक्ने अवस्था छ कि छैन? संविधानले दिन्छ कि दिँदैन? मूल प्रश्न यो हो।
सरकार गठनका लागि आह्वान नै नगरी मुख्यमन्त्री नियुक्त गरिएको भन्ने आरोप छ?
मैले बुझेअनुसार सदनबाट रेकर्ड मागिएको थियो। कुन दलको हैसियत कस्तो छ? सदस्य संख्या कति छ? संविधानको धारा १६८ उपधारा ३ मा त ठूलो दलको नेतालाई सीधै मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ।
बर्दिबासको होटलमा गएर शपथ ग्रहण गर्नुपर्ने अवस्था किन आयो त?
हिजो मलाई नियुक्ति दिइसकेपछि शपथ ग्रहणका लागि बोलाउँदा लोसपाका सांसदरू प्रदेश प्रमुखको कार्यालयको गेटमै धर्ना बस्नुभएको थियो। शपथ खाने बेलामा पनि म किन झगडा गर्न जान्छु? मलाई एउटा उपयुक्त वातावरण बनाइदिनुपर्यो भन्दा ल हुन्छ हुन्छ भन्दा भन्दै प्रदेश प्रमुखज्यू बिरामी पर्नुभो। उपचारका लागि निस्किएँ भनेर फोन गर्नुभयो। तपाईंले नियुक्ति दिइसकेपछि शपथ पनि त खुवाउनुपर्छ, उभ्भिएरै भए पनि शपथ खुवाएर जानुस, एक मिनेट भए पनि शपथ खुवाएर जानुस भनेर अनुरोध गरेका थियौं।
उहाँले ल ठिक छ तपाईं बर्दिबास आउनुस् बर्दिबास भन्नुभयो। त्यसैले बर्दिबासमा शपथ खाएका हौं। उहाँ बिरामी नै हुनुहुन्थ्यो। काठमाडौं निस्कनुभयो।