भदौ २४ को तोडफोड, आगजनी तथा लुटपाटका कारण माहोल अशान्त बनेपछि आफ्नो देश फर्किएका चिनियाँ छेन्दु जियान फुड कम्पनीका प्रतिनिधिहरू नेपाल फर्किएका छन्।
यो कम्पनीले नेपालको मासु प्रशोधन क्षेत्रमा अहिलेसम्मको सर्वाधिक लगानी गर्ने गरी उद्योग विभागबाट स्वीकृति लिएर काम सुरु गरेको थियो।
उद्योग विभागले गत साउन ८ गते नै २० अर्ब रूपैयाँको प्रत्यक्ष वैदेशिक लगानीका लागि यो कम्पनीलाई स्वीकृति दिएको थियो। गत बिहीबार ७ जना प्रतिनिधि नेपाल आएका छन्। उनीहरूले शुक्रबार नै प्रधानमन्त्री सुशिला कार्कीलाई भेट्ने समय माग गरेका थिए।
प्रधानमन्त्रीसँग भेटैसँगै फिल्डमा पुग्ने कार्यतालिका रहेको छ। जियान कम्पनीबाट नै थप ५ जना मंगलबार नेपाल आउने तालिका छ।
नेपालमा मासु प्रशोधन गर्ने, चीनमा निर्यात गर्ने र प्रशोधनका लागि पशुपालनदेखिकै चक्र चलाउने योजनामा यो कम्पनी थियो। सोही अनुसार नेपालमा हिमालय फुड इन्टरनेशनलसँग साझेदारी गरेर यो कम्पनीले काम सुरु गरेको थियो।
हिमालय फुड इन्टरनेशनलका प्रतिनिधिका अनुसार भदौ २४ अघि यो कम्पनीले ३५ करोड बढी रकम भित्र्याइसकेको थियो। तर, भदौ २४ को आन्दोलनपछि चीन फर्किएका प्रतिनिधि कतै नफर्कने अवस्थासम्म पुगेका थिए।
नेपालबाट गएको टोली चीन पुगेपछि जियान कम्पनीको बोर्ड बैठक बसेको थियो।
'उनीहरू गएपछि बोर्ड बैठक बस्यो। यसअघि पाकिस्तानमा पनि यस्तै समस्या भोगेका रहेछन्। अहिले नेपालमा पनि लगानी गर्न सकिँदैन भन्ने निचोडमा पुगेको हामीले थाहा पायौं,' हिमालयन फुडका एक प्रतिनिधिले भने। बोर्डमा 'हाइ रिक्स कन्ट्री' भन्दै तत्काल लगानी नगर्ने छलफल भएको थियो।
यसपछि भने हिमालयन फुड इन्टरनेशनलका तत्कालीन अध्यक्ष नवीन शर्मा चीन पुगे। यसको लागि उनलाई चीन सरकारले सहजीकरण समेत गरिदिएको उनी बताउँछन्।
'चीनको सरकारले सहजीकरण तथा प्रोत्साहन पनि गर्यो। मैले अवस्थामा सुधार आएपछि लगानी साझेदारी गर्ने सम्झौता गरे,' शर्माले भने।
त्यसपछि उनीहरूले हिमालयन फुड इन्टरनेशनलमा चीनको साझेदारी भित्र्याउने निर्णय पनि गरे। जसअनुसार हिमालयन फुडको अध्यक्षको जिम्मेवारी जियान कम्पनीका प्रतिनिधि वु स्याङलाई दिइयो, त्यस्तै हिमालयन फुड इन्टरनेशनलको ७८ प्रतिशत सेयर जियान कम्पनीलाई दिने निर्णय गरियो। २२ प्रतिशत सेयर पहिलेको हिमालयन फुड इन्टरनेशनलको सेयर प्रतिनिधिसँग हुनेछ।
त्यसपछि शर्मा नेपाल फर्किए। उनी नेपाल फर्किएको केही समयमा नै नेपालको अवस्था सामान्य भएको भनेपछि चिनियाँ टोली नेपाल आउने जानकारी गराइएको थियो।
अब द्रुत गतिमा नै काम सुरु गर्ने र पूर्व निर्धारित योजना अनुसार २०२६ फेब्रुअरीबाट मासु प्रशोधन गर्ने योजनामा उनीहरू छन्। तर त्यसअघि उनीहरू प्रधानमन्त्री सुशिला कार्कीसँग भेट गरेर विश्वस्त हुन चाहेको हिमालयन फुड इन्टरनेशनलका प्रतिनिधि नवीन शर्माले बताए। 'लगानीको सुरक्षा यो सरकारले पनि गर्छ। यहाँ शान्ति हुन्छ, आवश्यक सुरक्षा दिइन्छ, ढुक्क भएर काम गर्नुस् भन्ने प्रतिबद्धता उहाँहरूले खोज्नुभएको छ। प्रधानमन्त्रीसँग भेट भएसँगै हामी फिल्डमा जान्छौं,' शर्माले भने।
यसअघि २० अर्ब रूपैयाँ यो कम्पनीबाट लगानी गर्ने र थप लगानी नेपालको हिमालयन फुड इन्टरनेशनलले नेपाली बैंकबाट ऋण लिएर गर्ने समझदारी भएको थियो। अब भने थप लगानी गर्न पनि चिनियाँ कम्पनी नै तयार रहेको शर्मा बताउँछन्।
'नेपालमा ऋण महँगो पर्छ, थप आवश्यक पर्ने लगानी पनि हामी नै ल्याउँछौं भन्नुभएको छ,' शर्माले भने।
उनका अनुसार यसै सात थप २ अर्ब रूपैयाँ लगानी भित्र्याउनका लागि राष्ट्र बैंकसँग स्वीकृति मागिएको छ। अहिले निर्माणको काम जियान कम्पनीको तर्फबाट गरिँदैछ भने त्यसपछि उद्योग सञ्चालन, प्रशोधन तथा निर्यातको काम हिमालयन फुड इन्टरनेशनलको तर्फबाट हुने बताइएको छ।
उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको आदि) उत्पादन गर्ने जनाइएको छ।
यो उद्योग सिन्धुलीको मरिण गाउँपालिका–४ मा एक सय बिघा क्षेत्रफलमा फैलिनेछ। पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यस उद्योगले पाँच हजार १५६ जनालाई रोजगारी दिनेछ।

कम्पनीले दुई वर्षभित्र उद्योग सञ्चालनमा ल्याई मासु निर्यात थाल्ने तयारी गरेको जनाएको छ।
छेन्दु जियान कम्पनीले कति समयभित्र कति लगानी भित्र्याउने भन्ने तालिका पनि पेस गरेको छ। तालिका अनुसार पहिलो वर्षभित्र ६ अर्ब, दोस्रो वर्षभित्र थप १० अर्ब र तेस्रो वर्षभित्र थप ४ अर्ब रूपैयाँ लगानी भित्र्याइनेछ।
चीन हाल विश्वमै सबैभन्दा धेरै मासु खपत गर्ने देश हो।
चीनले अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिलजस्ता टाढाका मुलुकहरूबाट मासु आयात गरिरहेको अवस्थामा नेपाल भौगोलिक रूपमा नजिक र लागतमा पनि सस्तो पर्ने भएकाले लगानीको सम्भावना देखिएको हो।

