फागुन २१ को आमनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार आह्वान गरेको छ।
शनिबारबाट सुरू भएको यो प्रक्रियामा मोबाइल एपमार्फत् उम्मेदवारी दर्ता गर्न सकिने रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार समानुपातिक उम्मेदवारका लागि ५० हजार रूपैयाँ शुल्क तोकिएको छ भने प्रत्यक्षतर्फ २५ हजार रूपैयाँ तोकिएको छ।
उक्त शुल्क बुझाउन नसक्ने पार्टी सदस्यहरूलाई रकम छुट हुने सहमहामन्त्री अचार्यले बताए। त्यसरी शुल्क तिर्न नसक्ने पार्टी सदस्यहरूले रकम तिर्न नसक्ने वैध कारण खुलाउनुपर्नेछ।
उम्मेदवार बन्न यस्ता छन् मापदण्ड
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुन ऐनले पाँचवटा योग्यता निर्धारण गरेको छ। षस अतिरिक्त रास्वपाले पार्टी विधानअनुसार छुट्टै मापदण्ड पनि तोकेको छ।
यसमा पार्टीको केन्द्रीय अनुशासन आयोगलाई सम्पत्ति विवरण बुझाएको, प्रहरी रिपोर्ट पेस गरेको, पार्टीका मूल्यमान्यता प्रस्ट्याउने दस्तावेजप्रति प्रतिबद्ध रहेको, अन्य राजनीतिक पार्टी त्याग गरेको र थप स्वघोषणा/योग्यता हुनुपर्ने पनि रास्वपाले उल्लेख गरेको छ।
त्यस्तै, सार्वजनिक पद दुरूपयोग नगरेको, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, वैवाहिक अवस्थाको वैध स्पष्टताबारे स्वघोषणा गरेको हुनुपर्ने नयाँ मापदण्ड पनि अघि सारेको छ।
यस अतिरिक्त सार्वजनिक रूपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुर्व्यवहार/धम्की, जात–लिंग–आधारित अपमान वा कमजोर समूहको शोषणजस्ता आचरण नगरेको स्वघोषणा गर्नुपर्नेछ।
त्यस्तै आफू वा आफ्नै एकाघर सदस्यले आधारभूत आवश्यकताहरू (उम्मेदवारी/प्रतिनिधि सभा सदस्य पदावधिभर) स्थिर रूपमा पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानी–स्रोत भएको स्वघोषणा गर्नुपर्ने पनि रास्वपाले मापदण्डका रूपमा राखेको छ।
एउटै निर्वाचनमा समानुपातिक व प्रत्यक्षतर्फ एउटामात्रै निर्वाचन प्रणालीमा प्रतिस्पर्धा गर्न पाउने पनि रास्वपाले विधि तय गरेको छ।
'एउटै निर्वाचन चक्रमा प्रत्यक्ष वा समानुपातिकमध्ये कुनै एउटा निर्वाचन प्रणालीका लागि उम्मेदवार बन्ने उद्देश्यले छनोट विधिमा सहभागी हुने व्यक्तिले अर्को प्रणालीमा भाग लिन पाउने छैन। जस्तै, समानुपातिक उम्मेदवार छनोट विधिमा सहभागी भएको पार्टी सदस्यले त्यही चक्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचनको उम्मेदवार छनोट विधिमा सहभागी हुन पाउने छैनन्। प्रत्यक्ष र समानुपातिक दुवैमा सहभागी भएको पाइए उम्मेदवारी स्वतः खारेज गरिनेछ। प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्न छनोट विधिमा सहभागी भएको पार्टी सदस्यले त्यही चक्रभित्र हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न छनोट विधिमा सहभागी हुन पाउने छैनन्,' सहमहामन्त्री आचार्यले भने।
यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लोपटक समानुपातिक निर्वाचित सूचीबाट निर्वाचित भएका १४ जना सांसदहरूलाई पनि यसपटक उम्मेदवार बन्न पाउने छैनन्।
कसरी छानिन्छन्?
उम्मेदवार छान्दा पाँच वटा सिद्धान्त तय गरिएको आचार्यले बताए।
पहिलो संघीय सन्तुलन र क्षेत्रगत न्यायमा आधारित हुनेछ। सबै ७ प्रदेशबाट यथोचित र सन्तुलित प्रतिनिधित्व सुनिश्चित गरिने र प्राथमिक आधार प्रदेशको क्लस्टरीय जनसंख्या हिस्सा र पार्टीको मतदाता हिस्सा रहने उनले बताए।
त्यस्तै बन्दसूचीमा प्रत्येक प्रदेशको न्यूनतम प्रतिनिधित्वको तल्लो सीमा निर्धारण गरिने आचार्यले बताए।
दोस्रोमा परिष्कृत समावेशीता लागू हुने उनले बताए।
संविधान/निर्वाचन आयोगले परिभाषित क्लस्टर÷समुदाय (जस्तै महिला, दलित, जनजाति/आदिवासी, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रभित्रका विशेष स्थान र सुविधा दिनुपर्ने उपसमूहहरूलाई) मूलधारमा ल्याउने गरी छनोट विधि निर्माण गरिने आचार्यले बताए।
तेस्रोमा युवा नेतृत्वको उदयनलाई आधार बनाइएको छ।
जेन–जेड स्पिरिटलाई राजनीतिको मूलधारमा ल्याउने उद्देश्यले समानुपातिक बन्दसूचीमा युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिने उनले बताए।
'यस्तो सुनिश्चिततामा प्रदेशगत सन्तुलन राखिनेछ,' उनले भने।
चौथोमा प्रवासी नागरिकलाई पनि स्थान दिइने उनले बताए।
'विदेशमा सीप/अनुभव आर्जन गरेका नेपाली नागरिकका लागि स्पष्ट, पारदर्शी प्रवेश–मार्ग स्थापना गरिनेछ र बन्दसूचीको समग्र सन्तुलन रक्षा हुने गरी अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिनेछ,' उनले भने।
पार्टीले एकपटक मात्र समानुपातिक बनाउने विधि तय गरेको पनि उनले बताए।
'राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रतिनिधित्व प्रणालीको मूल मर्म — अवसरको पुनःवितरण लाई सुरक्षित गर्न एउटा व्यक्तिलाई एकपटक मात्र समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनाउने नीति अङ्गीकार गर्नेछ। यसले अवसरलाई बारम्बार केही व्यक्तिमा सीमित हुन नदिई नयाँ नेतृत्व, नयाँ पुस्ता र विविध समुदायलाई संसदमा प्रवेश गर्ने मार्ग खुला बनाउने विश्वास हामीले लिएका छौं,' उनले भने।
समानुपातिक उम्मेदवार तय गर्न रास्वपाले तीनवटा पक्ष छुट्टयाएको छ।
जसमध्ये लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र पारम्भिक निर्वाचन विधि तय गरेको छ।
यसपटक सम्पूर्ण पार्टी सदस्यहरूलाई मतदाता मानेर निर्वाचन गराउन लागिएको आचार्यले बताए। लिडरसिप एकेडेमीको २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटीका लागि २५ प्रतिशत र प्रारम्भिक निर्वाचनका लागि ५० प्रतिशत मतभार छुट्टयाइएको छ।
समानुपातिक उम्मेदवार छनोटका लागि लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी मापन
समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा आवश्यक पर्ने लिडरशिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीको मापन गर्न पार्टी सचिवालयले एक समिति गठन गर्ने आचार्यले बताए।
सचिवालयबाट प्रस्तावित भई केन्द्रीय समितिबाट अनुमोदन भएपछि मात्र उक्त समिति वैध मानिने रास्वपाले बताएको छ।