मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा २६ गते सामेल हुने भएका छन्।
नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका थिए।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० वाम घटकबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि यही पार्टीमा समाहित गर्नेबारे केही दिनदेखि छलफल भएको थियो।
सोही क्रममा आइतबार नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवरलगायतले संयोजक रावलसँग भेटवार्ता गरेका थिए।
उक्त छलफलका क्रममा रावललाई संयोजक प्रचण्ड र सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमै सामेल हुन आग्रह गरेका थिए। त्यसमा सकारात्मक हुँदै रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्। नेपाली कम्युनिष्ट पार्टीले कात्तिक २६ गते साढे १ बजे कार्यक्रम नै आयोजना गरेर भीम रावलसहितका नेतालाई भित्र्याउन लागेको छ।
एक नेताका अनुसार रावललाई नेपाली कम्युनिष्ट पार्टीको छैठौं वरीयता दिने सहमति भएको छ। नेपाली कम्युनिष्ट पार्टीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठपछि रावललाई वरीयता दिन लागिएको हो।
एमाले र माओवादी मिलेर नेकपा बनेका बेला नारायणकाजीसम्म सचिवालयमा राखिएको थियो। अहिले नेपाली कम्युनिष्ट पार्टीको सचिवालयमा पनि रावललाई राख्ने तयारी छ।