नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरूको गल्ती भएको बताएका छन्।
सोमबार पार्टीले काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले केही व्यक्तिले संसदमै बंगलादेशजस्तो बनाइदिने धम्की दिए पनि पार्टीले स्थानीय स्तरमा सुरक्षा समिति नबनाउनु गल्ती भएको स्वीकारे।
उनले एमालेलाई महासागरजस्तो संगठन भएको दाबी गर्दै एमालेलाई घरघरका युवाले साथ दिएको जिकिर पनि गरे।
उनले अध्यक्ष ओलीले एमालेका सबै युवा र नेताहरू सही विचार र संकल्पका साथ देश र जनहितमा काम गर्ने संगठनका सदस्य भएको पनि बताए।
उनले भने, ‘कोही कोहीले त संसदमै बंगलादेश जस्तो बनाइदिन्छौं भनेकै थिए। तर हामीले टोल टोलमा सुरक्षा समिति गठन गरेनौं त्यो हाम्रो गल्ती भयो। नेकपा एमाले भनेको एउटा तिलतले खोल्सी होइन यो एउटा महासागर जस्तो संगठन हो। जसमा युवापंक्तिको सबैभन्दा ठूलो सहभागिता छ। कोही कोहीले युवा छैन एमालेसँग भन्छन्, अनि को सँग छ युवा? फेसबुकको युवा होइन घरघरको युवा नेकपा (एमाले) सँग छ। फेसबुकमा त एमालेसँग केही पनि छैन। नेकपा (एमाले)का सबै युवाहरू, सबै नेताहरू सही विचार र संकल्प भएको संगठन हो। देश र जनहितमा काम गर्ने संगठन हो भनेर आफूहरूलाई चिन्नुपर्छ।’
उनले जेनजी विद्रोहलाई केही आपराधिक समूह एवं व्यक्तिहरूले हाइज्याक गरेको पनि बताए।
उनले मुलुकको शान्ति र सुरक्षाका लागि पार्टीले युथ भोलिन्टियर फोर्स गठन गर्ने कार्यको प्रारम्भ भएको पनि बताए। —न्युज एजेन्सी नेपाल