स्रोत अभावमा ४० दिनदेखि बन्द (सटडाउन) भएको अमेरिकी सरकार खुलाउन अमेरिकी सिनेटले पहिलो कदम चालेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अक्टोबर १ देखि अमेरिकाको सरकार बन्द भएको थियो।
अमेरिकी इतिहासकै सबभन्दा लामो सरकार बन्द अन्त्य गर्न डेमोक्र्याटिक पार्टीका आठ सिनेटरले रिपब्लिकनहरूसँगै मिलेर मतदान गरेपछि बन्द खुल्ने दिशामा अघि बढेको भनेर द न्यू योर्क टाइम्सले लेखेको छ।
डेमोक्र्याटिक पार्टीका आठ सिनेटरले समर्थन गरेपछि जनवरी अन्त्यसम्म खर्च गर्ने सम्झौता अघि बढाउने प्रस्ताव ६० विरूद्ध ४० को मतले पारित भयो। यसले सरकार बन्द अन्त्य गर्ने बाटो खुलेको छ।
सरकार खुलाउने पहलमा साथ दिएका डेमोक्र्याटिक पार्टीका सिनेटरहरूको पार्टीभित्र कडा आलोचना भएको छ।
खर्च सम्झौता अब प्रतिनिधि सभाले पनि अनुमोदन गरेर राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि सरकार बन्द अन्त्य हुनेछ।
अमेरिकामा संघीय आर्थिक वर्ष अक्टोबर १ बाट सुरू हुन्छ। त्यसअघि नै संघीय बजेट संसदले पारित गर्नुपर्छ।
उसो त अमेरिकाको दुवै सदनमा रिपब्लिकनको स्पष्ट बहुमत छ। तर सत्तारूढ दलले मनपरी नगरून् भनेर सिनेटमा बजेट जस्तो केही विधेयकमा 'फिलिबस्टर' को प्रावधान हुन्छ। फिलिबस्टर भनेको आफूलाई मन नपरेको विधेयकमा घण्टौंसम्म बोलेर प्रक्रिया लम्ब्याइ त्यसमा मतदान हुन नदिने उपाय हो। फिलिबस्टर लाग्ने विधेयक विपक्षीको सहयोग बिना पास गर्न ६० मत चाहिन्छ।
नोभेम्बर २१ सम्म सरकारी खर्च जोहो गर्ने रिपब्लिकनको योजनाले अक्टोबर अन्त्यमा भएको मतदानमा ५५ भोट मात्रै पाएको थियो।
अक्टोबरको अन्त्यसम्म स्रोत जुटाउने डेमोक्र्याटिक पार्टीको छुट्टै योजना पनि ४७ विरूद्ध ५३ मतले पराजित भएको थियो।
विपक्षीको माग अनुसार केही बजेट दिन राजी भएपछि अमेरिकामा जुन पार्टीको राष्ट्रपति भए पनि प्राय संघीय बजेट पास हुने गर्छ। यस पटक भने त्यस्तो सहमति हुन सकेन।
अमेरिकामा पछिल्लो सरकार बन्द ट्रम्पको पहिलो कार्यकालमा भएको थियो।
ट्रम्पले मेक्सिकोसँगको दक्षिणी सिमानामा पर्खाल निर्माणका लागि पैसा छुट्टयाउने मागमा डेमोक्र्याटिक सांसद सहमत नभएपछि २०१८ डिसेम्बर देखि ३५ दिनसम्म सरकार बन्द भएको थियो। सो बन्द अहिले सम्मकै सबैभन्दा लामो थियो। यस पटकको बन्द अझ लामो समयसम्म चलेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)