नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले पार्टीको नियमित महाधिवेशन गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन्।
आजको केन्द्रीय समितिमा धारणा राख्दै उनले क्रियाशील नवीकरण र नयाँ वितरणका काम नसकिएको बताए।
यसको जिम्मेवारी महामन्त्री गगन थापाले लिएको र समयबद्ध काम गर्न नसकेको उनको भनाइ थियो।
‘क्रियाशील सदस्यता व्यवस्थापन छानबिन समितिका संयोजक स्वयम महामन्त्रीज्यू तर काम नगर्ने र अरूको नाममा दोष थोपर्ने प्रवृत्ति किन?,’ उनले प्रश्न गरे, ‘यदि मंसिरमा महाधिवेशन भएको छ भने कार्यतालिका ल्याउनुस्।’
महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी ल्याएको प्रस्तावमा प्रदेश र जिल्ला अधिकारीको तालिका नै नरहेको पनि उनले बताए।
उनले विशेष महाधिवेशन किन र केका लागि भन्ने प्रश्न पनि गरेका छन्। नीति वा नेतृत्व के परिवर्तनका लागि विशेष महाधिवेशन माग भएको हो भन्ने प्रश्न उनको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेका छन्।
उनले नेतृत्व परिवर्तन आजको माग नभई नीति कार्यक्रम र सञ्चालनमा पुनरावलोकन आवश्यक रहेको बताए।
विशेष महाधिवेशन कुन कार्यविधिअनुसार गर्ने भन्ने प्रश्न पनि उनको छ।
उनले आफू सभापति शेरबहादुर देउवाको कार्यकर्ता भएको र यसमा गर्व लाग्ने पनि बताएका थिए।