प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङविरूद्ध फेसबुकमा स्टाटस लेख्दै आएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता गोविन्द अधिकारी पक्राउ परेका छन्।
कास्की प्रहरीले पोखराबाट पक्राउ गरी अधिकारीलाई मंगलबार गोरखा पठाएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरी पठाइदिन भनेर पत्राचार गरेपछि अधिकारीलाई पक्राउ गरेर पठाएको उनले बताए।
‘गृहमन्त्रीज्यूका विरूद्ध स्टाटस लेखेको भनेर उजुरी परेको भनेर गोरखाबाट पक्राउ गरी पठाउन पत्र आयो,’ उनले भने, ‘हामीले पक्राउ गरेर पठाइसकेका छौं।’
अधिकारीले केही दिनयता प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङविरूद्ध स्टाटस लेख्दै आएका थिए।
गृहमन्त्री गुरूङलाई गोरखाबाट लखेटेको स्टाटस लेखिएपछि सोही कसुरमा कारबाही गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ।
केही दिनअघि गृहमन्त्री मतदाता भेट्न र सचिवालय उद्घाटन गर्न गोरखा पुगेका थिए।
नेपाली कम्युनिष्ट पार्टीले भने सामाजिक संजालमा स्टाटस लेखेकै भरमा पक्राउ गर्नु गलत भएको भन्दै बिना शर्त रिहाई गर्न माग गरेको छ।