नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २३ गतेको घटनामा कसले गोली चलायो थाहा छैन भनेर तत्कालीन सरकार प्रमुखको हैसियतमा रहेका अध्यक्ष केपी शर्मा ओलीले भन्न नमिल्ने बताएका छन्।
चितवनमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले धरहरा चाहिँ मैले बनाएको भन्ने अध्यक्ष ओलीले गोली कसले चलायो थाहा छैन भन्न नमिल्ने टिप्पणी गरेका हुन्।
उनले भदौ २४ गतेको विध्वंश, लुटपाट र आगजनी समेतको छानबिन हुनुपर्ने धारणा राखे।
‘जसले गरेको भए पनि एमालेको सरकार थियो, सरकार दोषी हुन्छ हुन्छ,’ उपाध्यक्ष पाण्डेले भने, ‘धरहरा कसले बनाएको मैले बनाएको भन्ने, गोली कसले चलाएको त्यो त थाहा छैन भन्न मिल्छ? त्यसो भन्न मिल्दैन। बरू त्यो बेलामा सरकारको कन्ट्रोल किन भएन भन्ने त्यो पनि छानबिन गरौं भन्नुपर्छ। भदौ २३ गतेको घटनामा संलग्न जो छन्, त्यसमा प्रमाणित भएका सबैलाई कारबाही गर्नुपर्छ भन्नुपर्छ।’
भदौ २३ गतेको आन्दोलनमा जुन ढंगले हत्या भयो त्यो निकै गलत भएको उनको टिप्पणी थियो।
‘नेपालको इतिहासमा मात्र होइन, विश्वभरि, बंगलादेशमै पनि आन्दोलन गर्दा पहिलो दिन एक जना दुई जना मात्रै मरेका रहेछन्। गएको आन्दोलनमा। त्यहाँ सुरूआतमा त्यस्तो विस्फोटक थिएन। विस्तारैविस्तारै आन्दोलन बढ्दै गयो। हामीकहाँ पहिलो दिन नै १९ जना मर्ने गरी गोली चल्यो, त्यो कुरा गलत नै हो,’ उनले भने।
भोलिपल्ट २४ गते जे भयो त्यो उत्तिकै अक्षम्य रहेको उनले बताए।
‘सिंहदरबार जलाउन पाइन्छ? या व्यक्तिका घर जलाउन पाइन्छ? सर्वोच्च अदालत जलाउन पाइन्छ? या अरूका सम्पत्ति तोडफोड, आगजनी, लुटपाट चोरी किन गर्ने? यदि कानुनी शासन भएन र जे पनि गर्न पाइन्छ भन्ने भयो भने बस्छ कोही यहाँ? देश चल्छ?,’ उनले प्रश्न गरे।