नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले विशेष महाधिवेशनमा जान नहुने बताएका छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए।
त्यसप्रति लक्ष्य गर्दै आजको केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले विशेष महाधिवेशनमा जान नहुने बताएका हुन्।
विशेष महाधिवेशन माग गर्नेहरूको भावना समेटेर नियमित महाधिवेशनमा जानुपर्ने उनको भनाइ थियो।
‘महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्छ,’ उनले भने, ‘विशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुन्छ।’
उनले निर्वाचनमा भाग लिनुपर्ने बताए।
‘यतिबेला देशमा भयरहित वातावरण छैन। सरकारलाई वातावरण बनाउन दबाब दिउँ, प्रहरीबाट लुटिएका हतियार र जेलबाट भागेका कैदी फर्काउने दायित्व पनि सरकारको नै हो। यो जिम्मेवारी पूरा गर्न सरकारलाई दबाब बढाउँदै केन्द्रीय समितिबाट सर्वसम्मत निर्णय गरेर फागुन २१ को निर्वाचनमा जाऔं,’ उनले भने।
पूर्वमहामन्त्री कोइरालाले जेनजी आन्दोलनपछि सरकार मात्र बदलिएको तर संविधान यथावत रहेको भन्दै फागुन २१ को निर्वाचनमार्फत बन्ने प्रतिनिधि सभाले आवश्यक संविधान संशोधन गरेर जेनजीका जायज माग पूरा गर्न सक्ने बताए।