सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनको वातावरण निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्ने बताएका छन्।
बुधबार अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेतासमेत रहेका मुख्यमन्त्री शाहले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको भन्दै राजनीतिक र प्रशासनिक सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री सुशिला कार्कीले केही दिनअघि सातै प्रदेशका मुख्यमन्त्रीसँग गरेको भेटघाटको प्रसंग उल्लेख गर्दै उनले फागुन २१ गते निर्वाचन घोषणा भई सोही अनुसार तयारी अघि बढाइरहेको हुँदा सबै त्यो सफल पार्न लाग्नु पर्ने जोड दिए।
‘प्रधानमन्त्रीज्यूले संविधान, व्यवस्था र संघीयताप्रति पूर्ण प्रतिबद्ध देखिनुभएको छ,’ उनले भने, ‘जनआन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गराउनु रहने हुँदा त्यसका लागि सबै तहका सरकारले सघाउनु जरूरी छ।’
मुख्यमन्त्री शाहले त्यो वातावरण निर्माण गर्ने र शान्ति–सुव्यवस्था कायम तथा आम जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने मुख्य दायित्व राज्यको हुने बताए।
‘यस्तो बेला जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच आरोप–प्रत्यारोप होइन, विश्वास र सहकार्यको वातावरण निर्माण गर्न जरूरी छ,’ उनले भने, ‘लोकतन्त्रको सच्चा अनुयायी नेपाली कांग्रेस निर्वाचनमा ढुक्कले होमिने छ।’
मंगलबार अछामपछि डोटी पुगेका शाहले त्यसअघि छुट्टै अर्को कार्यक्रमलाई सम्बोधन गर्दै मानव सेवामूलक भावना रहेको नेपाली कांग्रेसभित्र पछिल्लो समय मानवीय संवेदना हराउँदै गएको बताएका थिए।
जेनजी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि सांघातिक आक्रमण हुँदा पनि पार्टीको कार्यसम्पादन बैठकमा सहानुभूतिसम्म प्रकट नगरिएको तथा शीघ्र स्वास्थ्य लाभको कामना समेत नगर्नु बिडम्बना मान्नुपर्ने उनले बताए।
‘पार्टी सभापति माथिको आक्रमणप्रति दुःख प्रकट गर्न समेत नसक्नुले कांग्रेस भित्रको मानवीयता हराइसकेको हो कि भन्ने अवस्था आएको छ,’ उनले भने, ‘कार्यसम्पादन बैठकमा सहानुभूतिसम्म प्रकट नगरिनु अत्यन्तै अमानवीय कार्य भयो।’
त्यस्तै, मुख्यमन्त्री शाहले कांग्रेसभित्र हस्ताक्षर अभियान चलाएर नेतृत्वमा पुग्न खोज्ने प्रवृत्तिलाई सही मान्न नसकिने बताए।
उनले पार्टी नेतृत्व जनताको जनमत र कांग्रेसको आन्तरिक जनमतबाट आउनुपर्ने बताए।
शाहले पार्टीले अब ढिलाइ नगरी महासमिति बैठक आह्वान गरी सैद्धान्तिक र वैचारिक बहसमार्फत् कांग्रेसको स्पष्ट दृष्टिकोण तय गर्नुपर्ने जोड दिए।
त्यस्तै शाहले भ्रष्टाचार न्यूनीकरणका लागि संस्थागत सुदृढीकरण अनिवार्य रहेको बताए।
पुराना दलहरूले राजदूत र आयोगका सदस्य सहितका संवैधानिक नियुक्तिहरूमा राजनीतिक हस्तक्षेप गरेको आरोप लागिरहेका बेला अहिलेको सरकारले पनि सोही कुरा दोहोर्याएको उनको आरोप थियो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णयले राजनीतिक भागबण्डा दोहोरिएको पुष्टि भएको उनले बताए।
‘केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गर्नु अहिले ऊर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई हटाउनु त्यस्तै प्रतिशोध र राजनीति थियो,’ उनले भने, ‘खुला प्रतिस्पर्धाबाट योग्य र क्षमतावान व्यक्तिलाई मात्र नियुक्त गर्ने पद्दतिको विकास नगर्दासम्म भ्रष्टाचार नियन्त्रण सम्भव हुने छैन।’
मुख्यमन्त्री शाह सुदूरपश्चिमको विभिन्न जिल्लाको भ्रमणमा छन्।