नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा विभिन्न प्रस्तावहरूका विषयमा थप छलफल हुने बताएका छन्।
हालै अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने ११ औं महाधिवेशनमा आफू बोल्ने र थप छलफल नहुने अभिव्यक्ति दिएका थिए।
त्यसतर्फ लक्ष्य गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा बहस हुने बताएका हुन्।
‘भदौ २३ र त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ कार्यदिशाका साथ अघि बढ्नु पर्ने आवश्यकता छ। तसर्थ आगामी एघारौं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान लगायतका विषयमा थप बहस र नयाँ निष्कर्षको आवश्यकता देखिएको छ,’ शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले पोस्ट गरेका छन्।
उनले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यता अनुसार बहसमा सहभागी भएर नयाँ निष्कर्शमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहने पनि उल्लेख गरेका छन्।
‘महाधिवेशन प्रतिनिधिहरूको छनोट मंसिर १३ गते देशभर एकै दिन हुँदैछ। जबजको संगठनात्मक सिद्धान्तअनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपील गर्दछु,’ उनले भने।
उनले इतिहासका हरेक राष्ट्रिय संकट र अप्ठ्याराहरूमा जिम्मेवार भूमिका निर्वाह गर्दै मुलुकमा सकारात्मक निकासका लागि एमालेले नेतृत्व गर्दै आएको पनि बताएका छन्।
उनले २०-२२ भदौमा भएको विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, विधान संशोधन प्रस्ताव लगायत दस्तावेज पारित भएको स्मरण गरे।
भदौ २३-२४ पछि परिस्थितिमा व्यापक परिवर्तन आएको उनको भनाइ छ।
राजनीतिक अवस्था, राजनीतिक दल, सरकार, संसद जस्ता संस्थासमेत हिजोको अवस्थामा नरहेको उनले बताए।
‘यस्तो अवस्थामा हिजोका हाम्रा कतिपय निष्कर्षले वर्तमान र भविष्यलाई सही ढंगले मार्गनिर्देशन गर्न सक्तैन। हामीले आफूलाई अद्यावधिक गर्न आवश्यक छ,’ उनले भने।